हुरीको वितण्डा : महाविनाश कच्ची संरचनाले

443
  •  
  •  
  •  

बारा — चुईं–चुईं गर्दै बाँसको ढोका बेस्सरी बज्रिन थालेपछि बारा भरबलियाका महेश रामले इँटाको ओट लगाइदिए । साँझ ७ बजे हुरीसँगै पानी दर्किएपछि उनले ओट हटाएर ढोका ढप्काइदिए । फुसको दुईकोठे घरमा पानी छिर्ने ढोकालाई हुरीले हल्लाई नै राख्यो । घरभित्रै पानी फुस्सफुस्स छिर्‍यो ।

महेश त्यतिबेलासम्म आत्तिएका थिएनन् । साना दुई नातिलाई काखमा च्यापे । र, ढोकाको आड लाग्दै खाटमा थच्चक बसे । त्यसपछि जे भयो, उनको होसहवास रहेन । खाटमा बसेर अढेस लागेको टाटी (बाँसको पर्खाल) उनको शरीरमा ढल्यो । खरको छाना उड्यो । अघिसम्म चुईं–चुईं गरिरहेको ढोका कराउन छाड्यो । ‘के आइलाग्यो’ भन्दै श्रीमतीलाई पनि खाटमै ताने । टाटीको ओतमै त्यो परिवारका ४ जना करिब ३ मिनेटसम्मको महाविनाशबाट जोगिन संघर्ष गरिरहे ।

‘श्रीमती खाना पकाइरहेकी थिइन् । म नातिसँग जिस्किँदै बसेको थिएँ,’ महेशले कान्तिपुरसँग भने, ‘त्यही बेला घर नै उडाउने हावा आयो । घरबारविहीन बनाएर बिलायो ।’ टाउकामा चोट लागेका महेशको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । एउटै बेडमा दुई जना राखिएका थिए । महेश बेडमा पलेंटी कसेर टोलाइरहेका थिए । महेशले आफ्नो जीवनमा यस्तो ‘तुफान’ नदेखेको बताए ।

‘आगोको मुस्लोजस्तो थियो हावा,’ उनले भने, ‘धुलो नै धुलो । आवाज पनि डरलाग्दो । केही नदेखिने । घरका सामान उछिट्टिने र बज्रने क्रम चलिरह्यो । फुसको घर भएर होला । धन्न, ठूलो चोटपटक लागेन ।’ पर्सा, महादेवपट्टीका विजय चौधरीको अनुहारभरि काटिएको घाउ छ । निधारको दाहिने कुनाको घाउ गहिरो छ । इँटा उद्योगमा काम गर्ने चौधरी आइतबार साँझ हुरी आउनुअघि नै घर पुगिसकेका थिए ।

खाना पकाउने सुरसारमा रहेका चौधरी हावा तेजमा बग्न थालेपछि रोकिए । खाटमा पल्टिएर आराम गर्न थाले । हावाको वेग झन् बढ्यो । पर्खालको प्लास्टर उप्किएर उनको अनुहारमा लाग्यो । घरको पर्खाल भत्कियो र इँटाले उनको निधारमा लाग्यो । उनी अचेत भए । होस खुल्दा अस्पतालको बेडमा थिए ।

अनुहारभरि मलम दलिएको र निधारमा ब्यान्डेज लगाएको अवस्थामा भेटिएका चौधरीले कान्तिपुरसँग भने, ‘ट्र्याक्टरमा राखेर गाउँलेहरूले अस्पताल ल्याएको रहेछन् । इँटाको पर्खाल शरीरमै झर्‍यो । झन् बाँचियो ।’ आइतबार साँझको ३ मिनेटको विनाशकारी हुरीले बारा रपर्सामा तान्डव मच्चायो । फुसको घरमा बस्ने राम र इँटाकै घर जोडेका चौधरी दुवैको घर हावाले उडायो ।

घरले थिचेर घाइते बनायो । आधा घण्टामा करिब १८ किमि विध्वंसकारी याक्रा गरेको शत्तिशाली हुरीले बारा र पर्साको फुस, खपडा र माटोको मसलाले इँटा जोडेर बनाइएको घर तहसनहस पार्‍यो । बारा र पर्साको ८ वटा बस्तीका करिब १५ सय घर भत्किएको प्रारम्भिक तथ्यांक छ । हुरीले भत्काएका अधिकांश घर कमजोर संरचनाका थिए ।

फेटा गाउँपालिका–६ पुरैनियामा अधिकांश घर भत्किए पनि केही पक्की घर हुरीबाट बचेका देखिन्छन् । बस्तीका पक्की घरलाई शक्तिशाली हुरीले सामान्य क्षति मात्र पुर्‍यायो । खुला छतमा राखिएका सामान मात्रै तितरवितर पारिदियो । जनधनै गुम्ने गरी क्षति भएन ।

पक्की घरकै वरिपरिको फुस, खपडा र इँटामाटोले उभ्याइएका घर भने गर्लामगुर्लुम्म ढले । सोमबार हुरी प्रभावित बस्ती पुगेका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले कमजोर र कमसल धेरैजसो घर हुरीले उडाएको बताए । ‘हुरीले तहसनहस पारेका प्रायजसो घरको जग र बनोट कमजोर नै देखियो,’ मन्त्री यादवले कान्तिपुरसँग भने, ‘मधेसको ग्रामीण बस्तीमा धेरैजसो घर यस्तै हुन्छ । यस्तै घरमा पुस्ता बितेको हुन्छ ।’

खेतखलिहानमा दैनिक बनिबुतो गर्ने र निम्न आयका बासिन्दाको घर मधेसमा कि त फुसकै हुन्छ । अलि राम्रो भए खपडाले छाएको । हावाहुरी र आगलागीले पहिलो सिकार बनाउने यस्तै घरलाई हो । गाउँमा देखिने धेरैजसो पक्कीघर वैदेशिक रोजगारकै देन हो । हुरीले कमसल र कमजोर घरमै बढी क्षति पुर्‍याएको देखेपछि संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुई प्रस्ताव गरे ।

‘कमजोर र कमसल घरमा धेरै क्षति पुगेको छ । जनता आवास कार्यक्रमबाट क्षतिग्रस्तको घर पक्की बनाइदिने मैले मुख्यमन्त्रीजीलाई पहिलो प्रस्ताव गरे,’ राज्यमन्त्री यादवले भने, ‘अर्को प्रस्ताव स्वास्थ्यको सबै जिम्मा हाम्रो मन्त्रालयले सम्हाल्ने थियो । उहाँको सकारात्मक प्रतिक्रिया पाएँ ।’

बारा र पर्सामा हुरीले घरबारविहीन भएकालाई बर्खाअघि नै ३ कोठाको प्रिफ्याब घर बनाइदिने प्रदेश २ सरकारले मंगलबार निर्णय गरेको छ । आन्तरिक मामिलामन्त्री यादव संयोजकत्वको राहत तथा उद्धार समितिले करिब ५ लाख रुपैयाँको लागतमा ४ महिनाभित्र घर बनाइदिने निर्णय गरेको हो । भूकम्प प्रतिरोधी यस्ता घर तीव्र वेगको हावाहुरी पनि थेग्छ ।

फेटा गाउँपालिका–६ स्थित पुरैनियाका जकिर मियाँले ३ वर्षअघि १ लाख रुपैयाँ ऋण गरेर घुम्ती पसल खोले । पसल राम्रै चलेको थियो । सामान बिक्रीबाट आएको थोरै नाफाले परिवार पाल्न थोरबहुत टेवा पुगेको थियो । खेतबारीको अन्नले वर्ष दिन खान नपुगे पनि पसलले गर्दा समस्या थिएन । मेहनत गर्थे । साँझ–बिहान नभनी पसलमा आफैं बस्थे । तर आइतबार आएको शक्तिशाली हुरीले उनको ओत लाग्ने घर मात्र भत्काएन । परिवारको सास धान्ने एउटा आधार नै बन्द गरिदियो । धेरै सामान हुरीले उडाइदियो । केही पुरिए ।

‘गरिखाने एउटा पसल थियो, त्यो पनि हुरीले उडाइदियो,’ पुरिएका सामान निकालेर देखाउँदै उनले भने, ‘अब कसरी जीविका चलाउने ?’ परिवार पाल्ने आधार बन्ने आशामा उनले २ लाख रुपैयाँ ऋण गरेर छोरा असरफ कर्मुलालाई विदेश पठाए । तर कतार गएपछि छोरा सम्पर्कमा रहेनन् । ऋण तिर्ने पैसासम्म पठाएनन् ।

लामो समय छोराले पैसा पठाउने आसमा बसेका उनी निराश छन् । ऋणको ब्याज बढेर डेढ लाख पुग्यो । तत्काल तिर्न सक्ने अवस्था नभएपछि उनले ३ कट्ठा खेत नै बेच्नुपर्‍यो । ‘अब छोराको कमाइ खाने आस छैन,’ उनले निराशा पोख्दै भने, ‘छोरा बुहारीको भयो, हाम्रा लागि हिजो जस्तो दुःखका दिन थिए, आज पनि उस्तै छन् ।’

गाउँका अधिकांश युवा रोजगारीको सिलसिलामा कतार, मलेसिया पुगेका छन् । जो विदेश गएका छन्, उनीहरूका छोराछोरी बोर्डिङमा पढ्न पाएका छन् । घरगाउँमै खेतीकिसानी गर्नेहरूले भने सन्तानलाई सामुदायिक विद्यालयमा पढाएका छन् । प्राकृतिक विपत्तिमा न्यून र मध्यम आयस्तर भएका समुदाय बढी परे । जस्ता, खरको छानो र माटो जडानका घर बढी भत्किएका छन् ।

फेटाको वडा १, ३, ६, ७, देवताल गाउँपालिकाको ७, महागढीमाई ७, पचरौताको ७ पर्सौनीमा हावाहुरीले जनधनको बढी क्षति भएको हो । मंगलबारसम्म बारामा २७ र पर्सामा एक जना गरी २८ जनाको ज्यान गइसकेको छ । ७ सयभन्दा बढी घाइते भए । केहीको काठमाडौं र अरूको बारा तथा पर्साका अस्पतालमा उपचार भइरहेका छन् ।

विदेश गएकाहरूको घर इँटा र माटोले बनेको छ । फेटा ३ का वडाध्यक्ष उपेन्द्र साहका अनुसार गाउँमा आफ्नै उब्जाउले वर्ष दिनसम्म खान पुग्ने परिवार कम छन् । जसले गर्दा रोजगारीका लागि खाडी मुलुक पलायन हुने युवाको संख्या उक्त वडामा सबैभन्दा बढी छ । ‘वडाका ६० प्रतिशत युवा कतार मलेसिया छन्,’ उनले भने, ‘गाउँसहरमा रोजगारी छैन, परिवार पाल्ने बलियो आधार केही नभएपछि विदेश पलायन हुनुको विकल्प रहेन ।’

खेतबारीको अन्नले वर्ष दिन खान नपुग्दा गाउँमै भएकाहरू नजिकका इँटाभट्टामा काम गर्छन् । विपत्तिका बेला अधिकांश घरमा युवा भएनन् । घटनाबारे राम्रोसँग बुझाउन परिवारले अहिलेसम्म सकेका छैनन् । केही युवा भने गाउँमा विपत्ति आइपरेपछि फर्किएका छन् । ‘गाउँमा ठूलो समस्या आइपरेको छ,’ सोमबार कतारबाट नेपाल आएका फेटा ६ का इन्तीहाजले भने, ‘खबर थाहा पाउनेबित्तिकै विदेशमा बस्न सकिनँ, घर फर्किहालेँ ।’ फेटाका मात्रै ३ सयभन्दा बढी युवा कतार पुगेका छन् । वडाध्यक्ष साहका अनुसार ३ नम्बर वडाको गछिया टोलमा ३ जनाको ज्यान गयो भने ६६ जना घाइते भए ।

‘विपत्तिमा पर्नेमा न्यून आयस्तर भएका परिवार बढी छन्,’ उनले भने, ‘कसैका घर छैनन्, कसैका परिवार छैनन्, कसैको खाने ठाउँ, ओढ्नेओछ्याउने छैन । कमजोर संरचनाले गर्दा भौतिक र मानवीय क्षति बढी भयो ।’ काट्ने बेलाको गहुँ ढलेर सोत्तर भएको छ । मकै मरेका छन् । आँपका बोट ढलेका छन् । बाँसका रूख उखेलिएका छन् । विद्युतका पोल ढलेका छन् । चापाकल सुकेका छन् ।

७४ वर्षीया सामोदेवी पटेलको खपडाको घर आइतबार साँझ क्षणभरमै भग्नावशेषमा बदलियो । परिवारका सातैजना थिचिए । एक दशक अगाडि श्रीमान् बितेपछि उनी फेटा भरबलियाको यस घरमा छोराबुहारी नातिनातिनासँग बस्दै आएकी थिइन् । चैत, वैशाखमा मधेसमा आउने हावाहुरीलाई थेग्दै आए पनि आइतबारको तीव्र गतिको आँधी उनको घरले थेग्न सकेन । फेटाकै पुरैनियाका साहुबुद्दिन अन्सारीले २ वर्षको कतार कमाइबाट गाउँमा पक्की घर निर्माण गरेका थिए । त्यही घरमा थिचिएर उनकी आमा, श्रीमती र दुई छोरीले ज्यान गुमाए । पक्की भनिएको उनको घरको गाह्रोभित्र माटोको जोडाइ र बाहिर केही सिमेन्टको मसला प्रयोग गरिएको थियो । छानोमा टायल लगाइएको थियो ।

आँधीले भत्काएका अधिकांश घर कमजोर संरचनाका थिए । अधिकांश ज्यान गुमाउनेहरू त्यस्तै घरको संरचनामा थिचिएका थिए । ‘अधिकांशको इच्छा वैदेशिक रोजगारबाट कमाएको पैसाले पक्की घर निर्माण गर्ने हुँदोरहेछ,’ भरबलियाका वीरेन्द्र साह भन्छन्, ‘तर त्यस्ता पक्की घर नाम मात्रको भएको देखिएको छ ।’

मापदण्ड पुर्‍याएर निर्माण नगरिएकाले पक्की भनिएको घरको इँट्टाले थिचिएर अधिकांशको मृत्यु भएको छ । उक्त क्षेत्रका सांसद रामबाबु यादवले कमजोर हिसाबले निर्माण गरिएका घरमा बढी क्षति भएको बताए । ‘कम समयमै बढी क्षति भएको छ । अब निर्माण हुने संरचना मापदण्ड पुर्‍याएर निर्माण गरिनुपर्ने देखिन्छ,’ उनले भने ।
आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

  •  
  •  
  •