प्रदेश ३ सरकारले हावाहुरी पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने

443
  •  
  •  
  •  

काठमाडौं, १९ चैत(ओएनएस) : प्रदेश ३ सरकारले हावाहुरीबाट प्रभावितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रदेश ३ को मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले छिमेकी प्रदेश २ मा विपत्तिमा परेका नागरिहरुलाई सहयोग पुग्नेगरी एक करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलका अनुसार प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन परिवारको आवास निर्माण गर्नका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निणय गरिएको छ ।

सोमबार मात्रै मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल हावाहुरीका कारण ध्वस्त भएको बारा र पर्सा जिल्लामा स्थलगत रुपमा निरीक्षण गरेका थिए ।
यसैबीच हावा हुरीका कारण विपत्तिमा परेका बारा र पर्साका नागरिकका लागि प्रदेश नम्बर ३ का सांसदहरुले समेत सहयोग गर्ने भएका छन् ।

सोमबार प्रदेशसभा बैठकमा सांसदहरुले आवाज उठाएपछि मंगलबार प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सबै प्रदेशसभाका सबै सदस्यहरुबाट तीन दिन बराबरको तलब दिने निर्णय गरिएको छ ।
आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् ।

आँधीहुरी आएको भोलिपल्टै सोमबार प्रदेश २ सरकारले भने मृतकका परिवारलाई जनही ३ लाख रुपैयाँ राहत सहयोग गर्ने घोषणा गरिसकेको छ ।

प्रदेश २ सरकारले मुख्यमन्त्री राहत कोष खडा गरेर नगद सहयोग संकलन गरिरहेको छ । राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२२०५०३०००००० मा सहयोग रकम जम्मा गर्न सकिन्छ । साथै मोबाइल बैंकिङबाट पनि कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।


  •  
  •  
  •