जग्गा किन्ने बहानामा हत्या, तीन जना पक्राउ

59
  •  
  •  
  •  

काठमाडौं । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा ‘मुख्य योजनाकार’सहित तीनजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङलाई पक्राउ गरेको हो।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

मंगलबार उनीहरुलाई पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको छ । जग्गा हेर्न भन्दै गएका उनीहरुले गत हप्ता योञ्जनलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते योञ्जनको उपचारकाक्रममा मृत्यु भएको थियो ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले उनीहरुले जग्गा किन्ने बहानामा मृतक योञ्जनसँग रहेको सुन लुट्न कुटपिट गरेको अनुसन्धानबाट खुलेको बताए ।

कुटपिटबाट योञ्जनको पेट, छाती र अनुहारमा गम्भीर चोट देखिएको थियो । कुटपिटपछि उनीहरु दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लिएर फरार भएका प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट बा ९६ प ७११४ नम्बरको एउटा मोटरसाइकल, सुन बिक्रीबाट प्राप्त एक लाख ५५ हजारमध्ये ५४ हजार ६०० रुपैयाँ नगद पनि र एक तोला दुई लाल सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई अहिले प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।


  •  
  •  
  •