यी हुन् ह्याट्रिक हिरो नवयुग

304
  •  
  •  
  •  

काठमाडौं ६ माघ ।
नवयुग श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपाल ४–१ ले माल्दिभ्सलाई मंगलबार हराएर ढाकामा भइरहेको बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

ढाकास्थित बंगबन्धु स्टेडियम नेपाली टिमको लागि यस्तो मैदान हो, जहाँ नेपालले पछिल्लो उपाधि (सन् १९९३/छैटौं दक्षिण एसियाली महासंघीय खेलकुदको स्वर्णपदक) जितेको थियो । त्यही मैदानमा नवयुग हिरो भएपछि नेपाली टिम आठौं दक्षिण एसियाली महासंघीय खेलकुदको फाइनल खेलेयता पहिलोपल्ट फाइनलमा पुगेको हो । त्यसबेला दशरथ रंगशालामा भएको सेमिफाइनलमा पनि नेपालले माल्दिभ्सलाई हराएको थियो । त्यसयता माल्दिभ्समाथि नेपालको पहिलो जित यही हो । नेपालले बंगबन्धु गोल्डकपको फाइनलमा शुक्रबार बहराइन यू–२३ सँग खेल्नेछ ।

२५ बर्षीय नवयुगले ३१ औं मनिेटमा गोल गर्दै माल्दिभ्सविरुद्ध खाता खोले । १४ भदौमा पुनेमा भएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका उनको यो पहिलो गोल हो । विशाल राईले ५३ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । विक्रम लामाको पास उपयोग गर्दै नवयुगले ६२ औं मिनेटमा गोल गरेर नेपाललाई ३–० ले अघि बढाए । उनको त्यो गोल स्तरीय थियो । उनले चार मिनेटको इन्ज्युरी टाइमको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यसमा पनि उनलाई विक्रमले पास दिएका थिए ।

नवयुग ह्याट्रिक गर्ने पाँचौं नेपाली फुटबलर हुन् । यसअघि गणेश थापा (दक्षिण एसियाली खेलकुद १९८७/भुटानविरुद्ध), नरेश जोशी (१९९९/श्रीलंकाविरुद्ध), नीराजन रायमाझी (विश्वकप छनोट २००२/मकाउविरुद्ध) र भरत खवास (एएफसी च्यालेन्ज कप छनोट २०११/नर्थर्न मारिया आइल्यान्डविरुद्ध) ले एकै खेलमा तीन गोल गरेका थिए ।

पाँच फिट ६ इन्च अग्ला नवयुग छरिता फुटबलर हुन् । सानो जीउडालका भएकाले पनि उनी निक्कै फास्ट खेल्छन् । उनको स्कोरिङ पनि राम्रो छ । विशेषगरी पेनाल्टी क्षेत्रनजिकबाट उनले लोभलाग्दा गोल गर्ने गरेका छन् । राष्ट्रिय लिग २०६८ मा फरवार्डको भूमिका उत्कृष्ट प्रदर्शन गरेपछि उनले राष्ट्रिय टिममा स्थान पाएका हुन् । उनले राष्ट्रिय लिगमा सर्बाधिक १४ गोल गरेका थिए ।

प्रशिक्षक ध्रुव केसीले उनलाई जगजित श्रेष्ठको स्थानमा विङ्सबाट खेलाउँदै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गराएका थिए । त्यसबेला नवयुगले भनेका थिए, ‘अब चाहि फरवार्डको भूमिकामा राष्ट्रिय टिमबाट खेल्न पाउने आस छ ।’ नेपालको गोलको खडेरी तोड्ने प्रयासमा बेल्जियन प्रशिक्षक प्याट्रिक ओसेम्सले उनको खुबी पहिचान गर्दै फरवार्डको भूमिकामा खेलाइहाले । राम्रो प्रदर्शन गरेपनि उनले यसअघिका ६ खेलमा गोल भने गर्न सकेका थिएनन् ।

इलामस्थित मंगलबारेका नवयुगले पोखरा–बुटवलमा २०६८ मा भएको राष्ट्रिय लिगमा सर्बाधिक ७ गोल गरेका थिए । त्यसबेला उनी फरवार्डको भूमिकामा मात्र थिएनन्, आर्मीका प्रशिक्षक योगम्बर सुवालले अट्याकिङ मिडफिल्डरको रुपमा पनि प्रयोग गरेका थिए । मिडफिल्डमा पनि राम्रै प्रदर्शन गर्दै आएपनि उनी कहिल्यै राष्ट्रिय टिममा परेका थिएनन् । यसपाली राष्ट्रिय लिगमा गरिएको प्रदर्शनले उनलाई चर्चा दिलाउँदै राष्ट्रिय टिमसम्मै पुर्‍याएको हो । ‘उनमा गजबको स्कोरिङ क्षमता छ, जुन अहिलेका नेपाली फरवार्डमा कमै पाइन्छ,’ आर्मीका प्रशिक्षक मेघराज केसीले कान्तिपुरुलाई बताए ।

नवयुगले राष्ट्रिय लिगमा पुलिसविरुद्ध ३–० को जितमा ह्याट्रिक गरेका थिए । तीनै गोल आकर्षक थिए । पोखरामा चार वर्षअघि भएको राष्ट्रिय लिगमा संगम क्लबलाई ५–१ ले हराउँदा उनी एक्लैले चार गोल गरेका थिए । २०६८ को राष्ट्रिय लिगपछि उनको प्रदर्शन औसत रह्यो ।

उनको भूमिका पनि एउटै थिएन, कहिले अट्याकिङ मिडफिल्डर त कहिले फरवार्ड । दुई वर्षयता बल्ल उनले चर्चित् फरवार्ड भारत खवाससँगै आर्मीको अग्रपंक्तिमा खेल्ने अवसर पाएका हुन् । यसवीच उनी चर्चामा नरहेपनि मैदानमा छाइरहेकै थिए ।

प्रतिद्वन्द्वी डिफेन्समा रोहित चन्दलाई सबभन्दा कठिन मान्ने उनले दुई वर्षयता आर्मीसँगै गणेशमान गोल्डकप (विराटनगर), माइभ्याली (इलाम), सिमरा (बारा) र पथरी गोल्डकप (मोरङ) को उपाधि जितेका छन् । उनी सीमरा र पथरीमा सर्बोत्कृष्ट खेलाडी पनि चुनिएका थिए । शिक्षकका छोरो नवयुगको फुटबल कौशल घरनजिकका सनराइज एकेडेमी र भानुभक्त उच्चमाविको मैदानबाट फैलिन थालेको थियो ।

राष्ट्रिय टिमबाट खेल्ने सपना
सानैदखि फरवार्डको भूमिकामा खेल्ने उनी २०६०–६१ को जिविस कपमा सहभागि हुन काठमाडौं आएका थिए । त्यसमा उनको टिम इलाम च्याम्पियन नै भयो । ‘त्यसैबेला खेलाडी बन्छु भन्ने लाग्यो,’ उनले भने, ‘एकचोटी न एकचोटी राष्ट्रिय टिमको जर्सी लगाउने सपना पाल्न थाले ।’

उनको खेल यू–१४ जिविस कप जितेपछि राम्रो हुन थालेको थियो । ‘इलाममै दुई साता ट्रेनिङ गरेपछि जिविस कप खेलेका थियौं । यसैले मेरो स्तर बढायो,’ उनले भने । स्थानीय त्रिवेणी युवा क्लबबाट भारतको सीमावर्ती मिरिक र दार्जिलिङमा खेल्दा टिमको सबभन्दा कान्छो खेलाडी उनी नै हुन्थे ।
कान्तिपुरबाट


  •  
  •  
  •