अमलाद्वारा टेष्ट कप्तानबाट राजीनामा

162
  •  
  •  
  •  

amala resigns as test captionकाठमाडौ, २३ पुस(ओएनएस) : दक्षिण अफ्रिकाको टेष्ट टोलीको कप्तानीको जिम्मेबारीबाट हसिम अमलाले राजीनामा दिएका छन् । केप टाउनमा भएको इङल्याण्डविरूद्धको दोस्रो टेष्ट बराबरीमा सकिए लगत्तै उनले टेष्ट कप्तानीबाट राजीनामा दिएका छन् ।

३२ वर्षीय अमलाले दोस्रो टेष्टलाई बराबरीमा पुर्‍याउनका लागि दोहोरो शतक प्रहार गरेका थिए । केही समयदेखी खराब लयमा रहेका उनी यो टेष्टपछि लयमा देखिएका छन् । उनको कप्तानीमा भारतसँगको सिरिज ३-० ले गुमाएपछि दवावमा आएका थिए । आफू सिनियर ब्याटस्म्यानका रूपमा रहने भन्दै उनले राजीनामा दिएका हुन् ।

अमलाले राजीनामा दिएपछि अब टोलीको कप्तानी एबी डिभिलियर्सले सम्हाल्नेछन् ।

अमलाले सन् २०१४ को मध्यतिर कप्तानी सम्हालेपछि पहिलो तीनवटा सिरिजमा जित हासिल गरेका थिए । उनको कप्तानीमा दक्षिण अफ्रिकाले श्रीलंका, जिम्बाब्बे र वेष्ट इण्डिजविरूद्धको टेष्ट सिरिजमा जित हासिल गरेका थिए । यसपछि उनको कप्तानीमा रहेको टोलीले बंगलादेशसँग वर्षका कारण सिरिज बराबरीमा टुङग्याएको थियो भने भारतसँगको टेष्ट ३-० ले गुमाएको थियो ।

अमलाले कप्तानीबाट राजीनामाको घोषणा क्रममा उक्त निर्णय लिन गाह्रो भएको र आफ्नो निर्णय सही भएको बताएका थिए । उनले आफू आफ्नो निर्णयमा सहज भएको र आफूले आफ्नै खेलका लागि मेहेनत गर्नुपर्ने देखेको बताएका थिए ।

उनले अगाडि भनेका छन्, ‘मलाई कप्तानको जिम्मेवारी दिइँदा निकै गौरवान्वित महसुस गरेको थिए । आफ्नो कप्तानीका क्रममा मैले प्रशिक्षक, व्यवस्थापन तथा खेलाडी साथीहरूबाट राम्रो सहयोग पाएको थिए । म आफ्नो खेललाई थप राम्रो बनाउनमा कटिबद्ध छु र कप्तानको रूपमा जो आएपनि मेरो समर्थन रहने छ ।’

उनले आफूले गत दुई साता अगाडि देखिनै कप्तानी छाड्ने सोच बनाएको उल्लेख गरेका छन् ।


  •  
  •  
  •