राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगनको घोषणा

आत्मनिर्भर हुन काम गर्ने
1028
  •  
  •  
  •  

एजेन्सी । ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने घोषणा गरेका छन् ।

उनीहरुले आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका हुन् । एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन् ।

बीबीसीका अनुसार उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको र बकिङ्गम प्यालेस त्यसबाट ‘निराश’ छाएको छ ।

राजपरिवारका वरिष्ठ सदस्यहरू ह्यारी दम्पतीको घोषणाबाट ‘आहत’ भएको बुझिएको छ । गत अक्टोबर राजकुमार ह्यारी र मेगनले सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन आफूले संघर्ष गर्नुपरेको बताएका थिए ।

बुधबार अप्रत्याशित रूपमा निकालिएको विज्ञप्तिमा आफूहरूले धेरै महिना सोचविचार र छलफल गरेर उक्त निर्णय गरेको उल्लेख गरेका छन् ।

उनीहरूले उक्त विज्ञप्ति सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन् । ‘हामी राजपरिवारका ’वरिष्ठ’ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौँ । यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौँ ।’

महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै यूके र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन् ।

‘यो भौगोलिक सन्तुलनले हामीलाई हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन समर्थ बनाउनेछ । त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गर्न सहित नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ दिनेछ ।’


  •  
  •  
  •