नेपाल–भारतबीच अत्यन्त बलियो सम्बन्ध छः विदेश सचिव हर्षवर्धन(भिडियोसहित)

86
  •  
  •  
  •  

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल भारतबीच अत्यन्त बलियो सम्बन्ध रहेको बताएका छन् । नेपालको दुई दिने नेपाल भ्रमणमा आएका श्रृंगलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

नेपालका परराष्ट्र सचिव भरत पौड्याल (बायाँ) र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला (तस्बिर : परराष्ट्र मन्त्रालय)

उनले आफू पहिले नै नेपाल आउन चाहेको तर कोभिडका कारण आउन नसकेको बताएका छन्।
‘‘म पहिले नै नेपाल आउन चाहेको थिएँ तर कोभिडका कारण आउन सकिएन,’ उनले भने ‘अहिले यहाँ आउन पाउँदा निकै खुशी लागेको छ। हामीबीच अत्यन्त बलियो सम्बन्ध छ। यसलाई कसरी अघि बढाउने भन्नेमै हाम्रो प्रयत्न हुनेछ।’
उनले आफ्नो दुई दिने भ्रमणका क्रममा नेपाल र भारतबीच निकै महत्वपूर्ण बैठकहरु हुने बताएका छन्। श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्।

विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार बिहान १०.४० मा त्रिभुवन विमानस्थलमा उत्रिएका हुन्। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर नयाँ राजनीतिक नक्सान सार्वजनिक गरेसँगै भारत र नेपालबीचको सीमा विवाद सतहमा आएको छ । आज नै सचिवस्तरीय बैठकसमेत हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रमाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे बैठकमा छलफल गर्ने तयारी भएको बुझिएको छ ।

दुई देशीय सीमा मामिलासहित प्रवुद्ध समूह (ईपीजी) को रोकिएको रिपोर्ट, ट्रान्समिसन लाईन, आर्थिक सहयोग एवं व्यापार, उर्जालगायत विषयमा पनि भारतीय विदेश सचिव श्रृंगलासँग कुराकानी हुने परराष्ट्रसचिव भरतराज पौडेलको भनाई छ । काठमाडौंको एक होटलमा द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठक बसेपछि उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यस्तै उनी र परराष्टमन्त्री ज्ञवालीबीच पनि भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव श्रृंगला नेपालको भ्रमण सकेर शुक्रबार दिउँसो १ बजे भारत फर्कने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •