‘झगडियासँग हिमचिम गर्नेलाई प्रधानन्यायाधीश र न्यायपरिषदले कारवाही गर्नुपर्छ’

219
  •  
  •  
  •  

काठमाडौं, १९ जेठ (ओएनएस) : कुनै पनि न्यायाधीशले मुद्दाका पक्षहरुलाई इजलासभन्दा बाहिर कतै पनि भेटघाट गर्न नमिल्ने विश्वव्यापी मान्यता हो । नेपालमै पनि न्यायाधीश आचारसंहिता छ । आचारसंहिताले स्पष्ट व्यवस्था गरेको छ कि न्यायाधीशले मुद्दाका पक्ष वा वकिलहरूसँग नाजायज भेटघाट गर्न मिल्दैन ।

यसरी आचारसंहितामा उल्लेख गर्नुको कारण विचाराधीन मुद्दाको न्याय निरुपण गर्दा प्रभाव पर्न सक्छ भन्ने नै हो । सर्वोच्च अदालतका न्यायाधीश त यस्ता कुरामा झनै संवेदनशील र जिम्मेवार हुनुपर्ने हो ।

हामीकहाँ आचारसंहिताको पालना भए नभएको कुरा तल्लो तहका अदालतका हकमा सम्बन्धित अदालतका एक नम्बर न्यायाधीश वा मुख्य न्यायाधीश (प्रमुख) ले हेर्नुपर्छ । सर्वोच्च अदालतले पनि यस्ता विषयहरु जानकारीमा आएपछि तुरुन्त कारवाहीको विषय बनाउनुपर्छ । न्यायपरिषदले पनि आफ्नो क्षमता र औचित्य देखाउने यस्तै कुरामा हो ।

न्यायपरिषद र सर्वोच्च अदालतको प्रमुख स्वयं प्रधानन्यायाधीश भएकाले न्यायाधीशहरुको आचरण र व्यवहारबारे उहाँले पनि नेकीवेदी राख्नुपर्छ । कुनै न्यायाधीश मुद्दाका पक्ष वा वकिलहरुसँग नाजायज भेटघाट र हिमचिम राख्छ भने त्यस्तोलाई तुरुन्त कारवाहीको विषय बनाउनुपर्छ ।

म आमाको काजकिरियामा रहेकाले आफैंले यो प्रकरण (न्यायाधीश गोपाल पराजुली झगडियासँग सपिङ गरेको) विषयबारे हेर्न भ्याएको छैन । तर, बार पनि न्यायालयको एउटा वाचडग भएका नाताले अवश्य प्रश्न उठाउनेछ । मैले बारका अन्य पदाधिकारी साथीहरुसँग यसबारे छलफल गर्दै छु ।

सर्वोच्च अदालतका न्यायाधीशबाटै यस खालका गतिविधि हुन्छन् भने सिंगो न्यायपालिका प्रतिको जनाआस्था र गरिमा रहने छैन । त्यसैले यो तुरुन्त कारवाहीको विषय बन्नुपर्छ । यदि प्रधानन्यायाधीशले यसप्रति गम्भीरतापूर्वक विचार गर्नुभएन भने संसदमै छलफलको विषय बन्न सक्छ ।

-कुराकानीमा अाधारित

(सर्वोच्चका न्यायाधीश झगडियासँग सपिङ प्रकरण) हेर्नुस् थप समाचार

‘झगडियासँग हिमचिम : नैतिकता, आचारसंहिता र कानुनविपरीत’

सर्वोच्चका न्यायाधीश पराजुली झगडियासँग सपिङमा


  •  
  •  
  •