काठमाडौं, २१ जेठ (ओएनएस) । प्रधामन्त्री सुशील कोइरालाको कार्यक्षमतामाथि अहिले सर्वत्र आलोचना भइरहको छ । प्रतिपक्ष दलले त संसद अबरुद्ध नै गरेका छन् । प्रधानमन्त्री स्वंय पनि आफ्नै पार्टी र सरकारको सहयात्री दलले सहयोग नगरेको गुनासो गर्दै हिड्ने गरेका छन् । कहिल्यै पनि लाभको पदमा नबसेका कोइराला एकैपटक प्रधानमन्त्री बनेपछि अपेक्षाकृत काम गर्न नसकेको भन्दै सबत्र आलोचना हुने गरेको छ ।
प्रधानमन्त्रीले पनि बढी दबाब दिए पदबाट राजीनामा दिने धम्की दिँदै आएको अवस्थामा अहिले उनलाई थरी–थरीका सुझाव आउने गरेका छन् । प्रधानमन्त्रीलाई सुझाव दिनेमा नेपाली जनता दलका सभासद हरिचरण साह पनि छन् ।
सरकारमा सहभागी हुने निकै लामो कसरत गरेका साह त्यो काम सफल नभएपछि अहिले प्रधानमन्त्रीलाई खुशी पार्न सुझाव दिन थालेका छन् । आफू सानो दलको नेता भएकाले आफ्ना कुरामा कसैले पनि ध्यान नदिएको गुनासो गर्दै आएका साह प्रधानमन्त्रीलाई आफूले भनेजसरी काम गर्न सुझाव दिएको बताउँछन् । ‘प्रधानमन्त्रीजी धेरै डराउनु हुँदोरहेछ, साहले भने, ‘मैले प्रधानमन्त्रीलाई राम्रो काम गर्न र नडराउन सुझाव दिएको छु ।’ केही दिन अगाडिको भेटमा साहले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएको बताए ।