टिका लगाउन अन्त कहीँ जान्नँ : हरिवंश आचार्य

80
  •  
  •  
  •  

मलाई र मेरो पत्नी रमिला आचार्यलाई पनि कोरोना संक्रमण भयो । हामीलाई भयो भन्दैमा तपाईँलाई हुन्छ भन्ने छैन । तपाईँ भीडभाडमा जाँदै नजानुस्, गयो भने पनि मास्क लगाएर हिँड्नुस् र साबुन पानीले हात धुने भन्ने भुल्दै नभुल्नुस् ।

कलाकार हरिवंश आचार्य र श्रीमती रमिला

यस्ता कुराहरु सुन्दा सुन्दै कण्ठ भइसक्यो तर पनि मलाई नलागुन्जेल के हुन्छ र ? भन्ने हाम्रो सोचाइ हुन्छ त्यसो हुनुहुन्नँ ।

कोरोना जसलाई पनि लाग्न सक्छ त्यही भएर सजग भएर हिँड्नु सबैभन्दा ठूलो कुरा हो । मेरो पत्नीलाई एक हप्तासम्म धेरै जीउ दुख्यो, टाउको दुख्यो र ज्वरो पनि आयो र मलाई पनि दुई दिनजति साधारण जीउ दुख्यो र ज्वरो पनि आयो ।

हामीले भाइरल र रुघाखोकीको सिजन हो, सामान्य हो, निको भइहाल्छ भनेर बस्यौँ पछि मेरो श्रीमतीको जिब्रोको स्वाद गयो । खानेकुराको स्वाद थाहा पाइन, नाकको गन्ध पनि गयो भनेपछि कोरोना होला भनेर जचायौँ, जचाएपछि हामी दुई जनाको रिपोर्ट पोजिटिभ आयो । कोरोना संक्रमण पोजिटिभ देखायो ।

घरमा छोरा बुहारी र अन्य सदस्यलाई कोरोना पोजिटिभ भएन । हामी १४ दिनसम्म एकान्तबास बस्यौँ । हाम्रो छोरा बुहारी माथि बसे हामी तल बस्यौँ । उनीहरुले खानेकुरा ल्याइदिन्थे, हाम्रो कोठामा राखेको भाँडोमा खन्याइदिन्थे । हामीले कसैसँग पनि भेटेको छैनौँ अहिले त केही लक्षण छैन । जीउ दुख्न पनि निके भइसक्यो स्वाद पनि फर्किसक्यो ।

कोरोनाले कसैलाई धेरै दुःख दिन्छ कसैलाई दिँदैन । अरुलाई साधारण भयो मलाई पनि साधारण हुन्छ भन्ने नसोचौँ । किनभने भ्यान्टिलेटर, आईसीयूमा राखिएका केशहरु पनि धेरै छन् । मानिसहरुलाई कोरोनाले मृत्युको मुखसम्म पुर्याएको घटना छन् यसबाट बच्नको लागि हुलमुलमा जाँदै नजाने, मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुने, स्यानीटाइजर प्रयोग गर्ने गर्ने नै बच्नको लागि सबैभन्दा ठूलो उपाय हो ।

नेपालीहरुको महान चाड दशैँ आइसकेको छ । यो बेला कोरोनाबाट बच्नको लागि विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । चाडबाडमा मानिसलाई भेट्ने, रमाइलो गर्ने, नाचगान गर्ने, टिका लगाउने गर्दा संक्रमण अझै बढ्ने सम्भावना हुन्छ ।

हुलमुलमा जान नहुने भएकोले म मेरो आफ्नै घर परिवारमा मात्र टिका लगाउँछु, टिका लगाउन अन्त कहीँ जान्नँ । मेरोमा टिका लगाउन आउने नातागोताहरुलाई पनि यो पटक मेरोमा नआउनुस् फोनमै कुरा गरौँ आशिर्वाद लिउँ अर्को पटक उल्लासमय तरीकाले चाडबाड मनाउँ भनेर अनुरोध गर्ने विचार गरेको छु । म आएन भनेर पनि नरिसाउनुहोला म नआएको कारण र परिस्थितिलाई बुझिदिनुस् र मेरोमा नआउनुस् भनेँ भनेर पनि नरिसाउनुस् ।

जीउ रहेदेखि जहिले पनि चाडबाड मनाउने दिन आइरहन्छन्, मनाउन सकिहाल्छौँ । हामीले यसपटक कसैको घरमा नजाउँ यो परिस्थिति बुझेर देवी देवताको मात्र आशिर्वाद लिएर दशैँ मनाउँ ।

(फाउण्डेसन हिरोन्डेल्लको सहयोगमा आउटलाइन मिडियाले उत्पादन गरेको रेडियो कार्यक्रम‘कोरोनाका कुरा’ मा वरिष्ठ कलाकार आचार्यसँग गरिएको कुराकानीको सम्पादीत अंश)

 


  •  
  •  
  •