काठमाडौ, २२ मंसिर(ओएनएस) : बाग्लुङका कांग्रेसका सभासद हरिबहादुर खड्का चढेको जीप दुर्घटनाबारे छानविन गर्नका लागि सरकारले समिति गठन गरेको छ ।
गत बुधबार जीप दुर्घटनामा गम्भिर घाइते भएका बाग्लुङ क्षेत्र नम्बर १ का सभासद खड्काको उपचारका क्रममा निधन भएको थियो । उनको आजै अन्त्येष्टी गरिँदैछ ।
छानविनका लागि नायव महान्यायाधिवक्ता राजेन्द्र सुवेदीको अध्यक्षतामा ३ सदस्यीय छानवीन समिति गठन गरिएको हो । छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक माधवप्रसाद नेपाल र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गणेश अधिकारी रहेका छन् । समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
सभासद खड्का गत बुधबार बलेवा क्याम्पसले आयोजना गर्न लागेको उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा जीप दुर्घटनामा परेर गम्भिर घाइते भएका थिए । घाइते भएका खड्कालाई पोखरासम्म एक हेलिकप्टरमा र पोखराबाट काठमाडौसम्म अर्को हेलिकप्टरमा ल्याइएको थियो । पोखराबाट काठमाडौ ल्याउनका लागि करिब २ घण्टा हेलिकप्टर कुर्नु परेको थियो ।
टाउकोमा गम्भिर चोट लागेका उनको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा आइतबार राती निधन भएको थियो ।
अन्तिम ऋद्धाञ्जली दिन खड्काको पार्थीव शरिरलाई कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।