सामाजिक सञ्जालले पठन–संस्कृति ओझेलमा पार्‍योः हरिवंश आचार्य

146
  •  
  •  
  •  

काठमाडौं । कलाकार हरिवंश आचार्यले साहित्यविना समाज बन्दै नबन्ने भएकाले आफ्नो साहित्य–संस्कृतिको जगेर्ना गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको बताएका छन्।

बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सव २०८० को उद्घाटन मन्तव्य दिने क्रममा कलाकार आचार्यले सो विचार व्यक्त गरेका हुन्।

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको दुईदिने महोत्सवमा पठन–संस्कृतिबारे बोल्दै उनले भने, ‘हिजोआज साहित्य र पठन–संस्कृतिलाई सामाजिक सञ्जालले ओझेलमा पार्दै लगेको छ। पठन–संस्कृतिको जगेर्ना गर्न भावी पुस्तामा किताब संस्कृतिको महत्व बुझाउनुपर्ने आवश्यकता छ।’

स्थानीय जनप्रतिनिधिबाट पठन–संस्कृति विस्तारका लागि देशका विभिन्न क्षेत्रका साहित्यकारलाई जुटाएर बुढानीलकण्ठ नगरपालिकाले सांस्कृतिक सदभाव झल्कने कार्यक्रमका लागि गरेको प्रयासको प्रशंसा गरे।

हरिवंशले कुनै पनि कला र कलाकार साहित्यभन्दा पर रहन नसक्ने बताउँदै आफू र मदनकृष्ण श्रेष्ठको काम पनि सधैँ साहित्यकै नजिक रहेको बताए।

शुक्रबार र शनिबार चल्ने दुईदिने महोत्सवमा कलाकार आचार्यद्वारा लेखक झमक घिमिरेलाई सम्मानसमेत गरिएको थियो।


  •  
  •  
  •