खुसी हुने काइदा

702
  •  
  •  
  •  

हामी जे गर्छौं, त्यो किन गर्छौं ? यसको जवाफ दिन परे के भनिन्छ ? जस्तो कि एउटा विद्यार्थीलाई सोधियो, ऊ किन पढ्छ ? उसले उत्तर देला पास हुन । फेरि सोध्न सकिन्छ, पास किन हुने ? उसले भन्ला जागिर खान । प्रश्न त फेरि पनि गर्न सकिन्छ । यसरी जेमा पनि किन भनेर सोध्दै जाँदा अन्तमा जसबाट पनि आउने एउटा उत्तर यस्तो हुँदो रहेछ, ‘खुसी हुन ।’

यहाँ पुगेपछि प्रश्नकर्ता हच्किन्छ । ‘खुसी किन हुने ?’ उसले यस्तो त सोध्न सक्दैन । सोधिहाले पनि उत्तर दिनु सट्टा हाँस्न थाल्नु हुनेछ । खुसी त हुनै पर्ने कुरा हो । भन्नु होला, यसमा किन भन्ने प्रश्नै किन गर्ने ? जसरी नदी समुन्द्रमा पुगेपछि बग्न छाड्छ । त्यस्तै प्रश्न खुसीमा पुगेपछि सायद रोकिन्छ । खुसी हुनुछ भने जेमा पनि प्रश्न गर्न मिल्दैन क्यार ।

‘किन बाँच्ने ? किन खुसी हुने ? किन सास फेर्ने ?’ जस्ता प्रश्न सायद त्यसैले गरिदैन । तर प्रश्न के चाहिँ गर्न मिल्छ भने, तपाईँ खुसी हुन के गर्नु हुन्छ ? ‘म त नाच्छु,’ निलम ढुंगानाले भनिन् । अंग्रेजीमा एउटा भनाइ छ । साँच्चि नै खुसी हुने चाहना छ भने कसैले पनि रोक्न सक्दैन । मोरङ दुलारीकी यी निलमलाई भेट्नु भयो भने कुरा खसोखास हो भन्न करै लाग्छ ।

निलम स्कुलै पढ्दादेखि नाच्न भनेपछि हुरुक्क हुन्थिन् । उनको खुसी नै यसमा अडि्कएको थियो । तर एक दिन त्यो भताभुंग भयो । कक्षा दसको जाँच थियो । दिन भनेर उनी जाँदै थिइन् । बाटोमा हिँड्दाहिँड्दै उनलाई ट्रकले ठक्कर दियो । निलमको ज्यान त जोगियो, तर एउटा खुट्टा गम्यो । खुट्टा गमेपछि उनलाई लागेको थियो, अब नाच्ने दिन सँधैका लागि गए ।

आखिर दुःखी भएर कति दिन चल्छ र बााच्नु छ भने मुस्कुराउनुको विकल्प कहाँ छ ? अनि उनले एकै खुट्टाले पनि नाच्ने प्रयास गरिन् । गरे नहुने के रहेछ त ? ‘सुरुमा मलाई एकदम गाह्रो भयो,’ उनी भन्छिन्, ‘पछि बानी पर्‍यो ।’ निलम जसै एक खुट्टाले नाच्न मञ्चमा देखा पर्न थालिन्, तब उनको प्रसिद्धी देशैभर फैलियो । निलमकै उमेरकी अर्की युवती रोजी भुसालकै कुरा गर्नुस् न । उनी पनि पेशाले नर्तक र मोडल दुबै हुन् ।

तर नाच उनको खुसी होइन, करिअर मात्रै हो । ‘छुकछुक रेल’, ‘नमस्ते परदेश’ जस्ता म्युजिक भिडियोमा छमछमी नाचेको देखिने काठमाडौं फुटुङकी यी चुलबुले सुन्दरी खुसी हुन गर्छिन चाहिँ के त ? ‘मुडमा भर पर्छ’ भन्छिन्,’पुस्तकहरु पढुछु, साथीहरु भेटुछु, मन्दिर जान्छु ।’ यति गर्दा पनि खुसी पुगेजस्तो लागेन भने उनी बालमन्दिर जाँदिरहिछन् । अनाथ बालबालिकासँग खेल्दी रहिछन् । भन्छिन्, ‘यसो गर्दा मन रमाउँछ र जाँगर फेरि पलाएर आउँछ ।’

जीवन गाडी हो भने खुसी त्यसको इन्जिन र तेल दुवै । इन्जिन खराब भए गाडी बिग्रन्छ । खुसी खराब भयो भने जीवन बिग्रन्छ । त्यसैले त खुसी भएर हामी थाक्दैनौं । खुसीको तौल जति बढी, मन उति चंगा । अक्सिजन बढी भएर निसास्सिएको फोक्सो कहाँ छ र ? हामी प्रेम गर्छाैं खुसी हुनका लागि ।

पूजा, प्रर्थाना र ध्यान पनि गर्छैं त्यसैका लागि । कमाउने पनि खुसीकै लागि । खर्चने पनि खुसीकै लागि । र पनि खुसी साधै एउटा रहस्यजस्तो । पानीको रसायनिक सुत्र एचटुओ भनेजस्तो खुसीको त्यस्तो कुनै सार्वकालिक कुनै र्फमुला छैन । त्यसो हुनाले को के गरेर कसरी खुसी हुन्छ कसैले भन्न सक्दैन । कसैलाई जुनेली रातमा झ्याल खोलेर हिमालका लहरहरु हेर्नमा खुसी होला ।

कसैलाई मन परेको मान्छेको हात समातेर खोलाको किनारै किनार हिाड्नुमा खुसी होला । कसैलाई दिनमा आनन्द होला कसैलाई लिनमा । कसैलाई पढ्न, कसैलाई खेल्नमा । दुःख भुल्ने र खुसी हुने काइदा आआफ्नै हुन्छ । पहिलेका नाट्यकर्मी र अहिलेका सिनेकर्मी युवा रविन्द्रको पनि छ । उनी भन्छन्, ‘म त खुसी हुन आफूलाई मन लागेको काम गर्छु । दुःखी भए ध्यान गर्छु र त्यसलाई स्वीकार्ने कोशिस गर्छु  ।’

जीवनमा खुसी हुनका लागि अनगिन्ती निःशुल्क अवसर पनि छन् । जाडोमा मस्त घाममा ढाड सेकाएर बस्न सकिन्छ, खोलामा माछा झैं पडिए पनि हुन्छ । हाम्रा डााडाहरुलाई सर्पलेझैं बेरेका नागबेली गोरेटोहरु चढेर टाकुरामा पुगी सुस्ताउनुमा पनि खुसी छ । पानी नै पिउन नपाएर छटपटीएको काकाकुल काठमाडौंको चरालाई पानी खुवाउनुमा पनि तपाई खुसी भेट्न सक्नु हुन्छ ।

कामबाट एकछिन फुर्सद निकालेर गोधुलीमा टहल्नुस् । अनि खुसीको चढ्दो पारो नाप्नुस् । बिहानै उठेर दौडनुस् र पसिना पसिनामा खुसी निकाल्नुस् । बोल्दा सँधै मुस्कुराउनुस् । कसैले गाली गरे हाँसिदिनुस् । बच्चाको आँसु पुछिदिनुस् । बुढाबुढीलाई बाटो काट्न सघाइदिनुस् । साथीको प्रशंसा गरिदिनुस् । अनि हेर्नुस्, खुसी कति धेरै उपलब्ध छ, त्यो पनि सित्तैमा । कान्तिपुरबाट


  •  
  •  
  •