थप ४ ह्याण्ड स्यानिटाइजरमा विषाक्त रसायन भेटियो

66
  •  
  •  
  •  

काठमाडौं । औषधि व्यवस्था विभागले थप ४ वटा ह्याण्ड स्यानिटाइजरलाई कारबाही गरेको छ । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि विभागले उक्त स्यानिटाइजर कम्पनीलाई प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध लगाइएका कम्पनीहरुमा चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर रहेको छ ।

उक्त स्यानिटाइजरमा तोकिएको मापदण्डविपरीत विषाक्त रसायन मिथानोल समावेश भएको पाइएको र सो प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भएकाले सर्वसाधारणले प्रयोग नगर्न नराउन र त्यस्ता स्यानिटाइजरहरुको उत्पादन तथा बिक्रीवितरण अबिलम्ब रोक्न पनि विभागले सरोकारवाला निकायलाई सूचित गरेको छ।

यसअघि विभागले काठमाडौं उपत्यकाका ५ उद्योग कारबाही गरेको थियो । मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेको पाइएपछि काठमाडौंका ४ र भक्तपुरका १ उद्योगलाई औषधि व्यवस्था विभागले कारबाही गरेको थियो ।

कारबाहीमा पर्ने उद्योगमा भक्तपुरको नेपाल कायाकल्प उद्योग, हाइजिङ सोप एन्ड केमिकल, आधार केमिकल एन्ड फुड इन्डस्ट्री, सर्च केम कम हर्बल प्रोडक्ट र सूर्यमुखी हर्बल प्रोडक्ट रहेका थिए ।

हेर्नुहोस्


  •  
  •  
  •