कञ्चनपुरमा झन्डै ९ सय परिवार दूषित पानी पिउन बाध्य

304
  •  
  •  
  •  

काठमाडाैँ, २ बैशाख (अाेएनएस) : स्थानीय सरकारकाे चरम लापरवाहीले गर्दा कञ्चनपुरका झन्डै ९ सय परिवार दूषित पानी पिउन बाध्य छन्।  शुक्लाफाँटा नगरपालिका–१२ का ८ सय ८० परिवारले शुद्ध पानीकाे विकल्प नभएपछि दूषित पानीनै प्रयोग गर्नुपर्ने बाध्यता रहेकाे बताउँछन्।

वडासदस्य बलदेव भट्टले नगरपालिकामा पटक पटक अनुराेध गर्दा पनि सुनवार्इ नभएकाे बताए।

‘नगर विधान अधिवेशनका क्रममा बोतलमै पानी समेत भरेर लगेर  प्रत्यक्ष देखाएका छौँ,’ वडादस्य भट्टले भने, ‘शुद्ध पिउने पानीका लागि खानेपानी आयोजना निर्माण गर्न दबाब दिने कार्य गरिए पनि सुनवाइ हुन सकेको छैन।’

यहाँका बासिन्दाले खानेपानी आयोजना निर्माणका लागि सम्बन्धित निकायसँग आग्रह गर्दा पनि वास्ता नगरेकाे बताए।

हेण्डपम्पमार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै आएका छन्। पानीसँगै मिसिएर आउने पहेँलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छालासम्बन्धी विभिन्न रोग देखा पर्ने गरेको वडासदस्य भट्टले बताए।

‘दूषित पानीका कारण लाग्ने रोगबाट बूढापाका, बालबालिका बढी प्रभावित हुँदै आए पनि युवा र महिलासमेत यसबाट प्रभावित हुनेगरेका छन्’, उनले भने।

पानीकै कारण हुने गरेका रोगको उपचारका लागि स्थानीय बासिन्दा स्वास्थ्य चौकी पुगेर उपचार गराउँदै आएपनि लामो समयसम्म पनि छालासम्बन्धी रोग निको हुने गरेको छैन।

दमलपट्टि, चित्रपुर, कालागौंडी, आन्ध्राजाला, तिलकपट्टिलगायत क्षेत्रका बासिन्दा दूषित पानीका कारण बढी मात्रामा प्रभावित छन्। विभिन्न निकायमा पुगेर पानी चेकजाँचका लागि आग्रह गरे पनि हालसम्म पानी चेकजाँच हुन नसकेको स्थानीय बासिन्दाले बताए।

पानीमा पहेँलो निस्कने पदार्थ आइरन वा आर्सेनिक हुनसक्ने अनुमान गरिँदै आए पनि पिउने पानीको अर्को विकल्प नहुँदा स्थानीय बासिन्दा बाध्यताले सोही पानीको प्रयोग गर्दै आएका छन्। त्यसक्षेत्रमा ३०/३५ फिटमै हेण्डपम्पमा पानी आउने गरेको छ।

वडाध्यक्ष बाले रानाले भने, ‘पहेँलो पानीका कारण बिरामी पर्ने त छँदै छ, कपडा धुने गर्दा पूरै पहेँलो हुने र भाँडाकुडामा समसमेत कालो दाग लाग्ने समस्या छ।’

 


  •  
  •  
  •