कर्णालीबासी भन्छन्, ‘जनप्रतिनिधिले आशा र अपेक्षा गरे अनुसार काम गरेनन्’

114
  •  
  •  
  •  

सुर्खेत । कर्णालीका नागरिकहरुले जनताका सवालमा केन्द्रीत हुन जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । उनीहरुले आफुले चुनेर पठाएका जनताबाट ठूलो आशा र अपेक्षा भएपनि सो अनुसार काम हुन नसकेको भन्दै गुनासो व्यक्त गरे ।

यूएनडीपी संसद परियोजनाको सहयोगमा आउटलाइन मिडिया प्रालि काठमाडौंले शनिबार सुर्खेतको भेरीगंगा नगरपालिकामा आयोजना गरेको ‘हाम्रो संसद’ विषय अन्तरक्रियामा सहभागी नागरिकहरुले नागरिकहरुले यस्तो बताएका हुन् ।

भेरीगंगा नगरपालिका वडा नं १० का बीर बहादुर बस्नेतले सांसहरुलाई सरकारले संचालन गरेका कार्यक्रमम जनताको लागि की ?, कार्यकर्ताका लागि पनि हो ? भनेर प्रश्न गरे । उनले जनताले प्रत्यक्ष रुपमा लाभ लिएका छन् की छैनन् ? भनेर अनुगमन गर्न आवश्यक रहेको बताए । सडक, सिँचाई, खानेपानी, भवनलगायतका विभन्न योजना अलपत्र रहेको उनको भनाई छ ।

भेरी गंगा नगरपालिकाका १२ का उर्मिला विकले रोजगार, शिक्षा, स्वास्थ्यलगायतका समस्या रहेको बताइन् । उनले भनिन्, ‘सरकारले दलित महिला आर्यआर्जन कार्यक्रम ल्याएको छ भनेको छ । खै हामीले रोजगार पाएको ? हामीले पढेर पनि बेरोजगार भएर बस्नुपर्ने बाध्यता छ ।’
सुर्खेतमा वर्षौदेखि बाढीपीडितहरुको समस्या रहिरहेकाले व्यवस्थापनका लागि ध्यान नदिएको उनीहरुले बताए । २०७२ सालदेखि बाढीपीडित अहिले पनि पालमुनि छन् ।

भेरीगंगा नगरपालिका ४ का विजय दलामी मगरले ६ वर्षदेखि बाढी पीडितको व्यवस्थापन गर्न नसकेको गुनासो गरे । उनले प्रदेशसभा सदस्यहरुलाई प्रश्न गर्दै भने, ‘अहिलेसम्म बाढीपीडितहरुको व्यवस्थापन गर्न किन सक्नु भएको छैन् ? समितिहरु मात्रै बनाउने हो की समस्या समधानतर्फ लाग्नुहुन्छ ? । हामीले पालमुनि कहिलेसम्म बस्ने ? ।’

सोही ठाउँका सन्त बहादुर खत्रीले बाढीपीडित भएको वर्षौ बितिसक्दा पनि सरकारले चासो नदिएको बताए । उनले आफुहरुको नाम बाढीपीडितको नावमालीमा समेत समावेश नगरेको भन्दै गुनासो व्यक्त गरे ।

कार्यक्रममा उपसभामुख पुष्पा घर्तीले प्रदेशसभाले संघियताको जग बसाउने र जनपक्षीय कानुन निर्माणका काम शुरु गरिएको बताइन् । प्रदेशसभा, संसदका विषयगत समितिले सरकार बनेर आउने विधेयकमा छलफल बहस गरेर पास गर्ने गरिएको उनको भनाई छ । सरकारले गरेका कामहरुको अनुगमन गर्ने, निर्देशन दिने, सुझाव दिने गरिएको जानकारी दिइन् । जनताका समस्याहरुप्रति सरकारलाई जबाफदेही गराउने काम प्रदेशसभाले गरेको उनले बताइन् ।

प्रदेशसभा सदस्य खड्क खत्रीले योजना तथा बजेट दुरुपयोग हुनबाट रोक्न स्थानीय स्तरबाट चनाखो हुनुपर्ने बताए । उनले निर्वाचन क्षेत्रममा योजना छनोट गरेर पठाएको जानकारी दिए । उनले जनपक्षीय कानुन निर्माण, शंसोधनलगायतमा आफुहरु निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे । सरकारले जनताका लागि भन्दा पनि सरकारमा रहेकाहरुको आसेपासेहरुका लागि पाइएको र संसदबाट आफुहरुले खबरदारी गरिरहने उनको भनाई थियो ।


प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री बिमला केसीले अर्गानिक प्रदेश सरकारका कार्यक्रम कार्यान्वयन हेरिरहेको बताइन् । आफुले सुरु गरेका राम्रा कार्यक्रमहरुलाई अघि बढाउन पहल गर्ने बताइन् । बाढीपीडिहरुको घर बनाउने काम भइरहेको र केहीको व्यवस्थापन भएको उनको भनाई छ ।

प्रदेशसभा सदस्य अमृता शाहीले महिलाका लागि आयआर्जन कार्यक्रम पहल निरन्तर गरेको बताइन् । सरकारले केही कार्यक्रम गरेको बताइन् । बजेट व्यवस्थापनमा नीति, कानून निर्माणमा निरन्तर लागेको उनको भनाई छ ।


  •  
  •  
  •