हामीलाई हाम्रै तरिकाले दशैँ मान्न देऊ

711
  •  
  •  
  •  

प्राचीन विजयको वर्तमान आस्था
दशैँ अर्थात सुख
हरेक वर्ष शालनिताका साथ
हिँड्ने गर्छ
मेरै घर नजिकको बाटो
अनि, म निम्त्याउँछु उसलाई
मेरो घरमा पनि
मेरो परिवार, मेरा छोराछोरी
सबै प्रसन्न हुन्छन्
दशैँले हाम्रो घरमा पनि प्रवेश गर्यो भनेर
आहा !


प्रसन्न हुने अधिकार हामीलाई पनि रहेछ
किन नहोस् पनि ?
दशैँ चाड हो !
संस्कृति हो !
परम्परा हो !
हेर यो आज हाम्रो घरमा पनि छिरेको छ
भ्याब्यता र सम्मानका साथ्
दसैं आफूलाई सम्पन्न ठान्नेहरूको मात्र पेवा होइन
यो हामी नेपालीको हो गरिमा !
अर्थात यो हाम्रो हो ! हामी सबै को हो !
हामीलाई गरीब ठानी
चाड र पर्व पारेरै
होच्याएर विचार पोख्नेहरुको मात्र आर्जन होइन
हामीलाई असमर्थ
र, आफुलाई समर्थ ठान्नेहरूको मात्र जागीर होइन
काल परिस्थितिले गर्दा
कहिले काहीं हामी अभावमा बाँच्छौ होला
तर मनका गरीब होइनौँ
चार माना चामल र दुईकिलो मासु किन्न
प्यारीलाई गुनियो र नानीहरुलाई भोटो किन्न
मेरा यी पाखुरा सक्षम छन्
र सक्षम छन् यी पाखुरा
मेरो परिवारको निधारमा
चामल, दही मिस्सिएको रातो अछेता
जयन्ती मंगलाकाली भद्रकाली कपालीनी भन्दै
उनिहरुको निदारमा लगाई दिन
दुर्गा क्षमा शिवाधत्री स्वहासुधा नमस्तुतेु भन्दै
उनीहरुको कानमा जमराको आशीर्वाद सिउरिदिन
हामीले कसैबाट भिक्षाको आस गरेका छैनौँ
सहानुभूतिका शब्दहरुको माग गरेको छैनौँ
हाम्रो स्वाभिमानलाई ठेस नपुर्‍याउन अनुरोध गर्छु
हे विद्वान आत्माहरू हो

हामीलाई हाम्रै सम्मान र गरिमामा बाँच्न देउ
हो, हामीलाई हाम्रै गरिमामा बाँच्न देउ !
हामीलाई हाम्रै तरिकाले दशैँ मान्न देउ !!

 


  •  
  •  
  •