इजरायल–हमासबीच युद्धविराम सकियो, दक्षिणी गाजामा हवाई आक्रमण

178
  •  
  •  
  •  

एजेन्सी । इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्राेही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई पक्षबीच यसअघि भएको युद्धविरामको अवधि सकिएलगत्तै इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको हो ।

इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको बीबीसीले जनाएको छ । हमासद्वारा सञ्चालित आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजा पट्टीमा धेरै हवाई आक्रमण भएको जनाएको छ ।

सात दिनसम्म चलेको युद्धविराममा हमासबाट बन्धक एक सय १० र इजरायलले बन्दी बनाएका दुई सय ४० प्यालेस्टिनी रिहा भएका छन् ।

गएको अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । उसले दुई सय ४० जनालाई बन्धक बनाएको थियो ।

त्यसयता इजरायलको प्रतिआक्रमणमा झन्डै छहजार बालबालिकासहित १४ हजार आठ सयभन्दा धेरै मानिस मारिएका गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •