मदन कोइराला
काठमाडौं, २८ भदौ (ओएनएस) : सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भएको आठ महिना पुरा हुन लागेको छ । गएको माघ २८ गते प्रधानमन्त्रीमा निर्वाचित भएका कोइरालाले दोस्रो पटक मन्त्रीमण्डल पुनर्गठन गर्दा पनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन् । शुक्रबारमात्र प्रधानमन्त्रीले एमाले कोटोमा मन्त्री बनेका भीमप्रसाद आचार्य र कर्णबहादुर थापालाई पदमुक्त गरेर ती स्थानमा दीपकचन्द्र अमात्य र महेश बस्नेतलाई मन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले रक्षा, विज्ञान प्रविधि तथा वातारण र सहकारी तथा गरिवी निवारण मन्त्रालय आफैंसँग राखेका छन् । सहमतिको सरकार गठन गर्ने बाहानामा प्रधानमन्त्री कोइरालाले तीन वटा मन्त्रालय आफैंसँग राखेका छन् । तर उनी आफ्नो जिम्मेवारीमा रहेका ती तीनै वटा मन्त्रालयमा पाइलासमेत टेकेका छैनन् । जसका कारण ती मन्त्रालयको काम अस्तव्यस्त बनेको छ ।
लामो समय अमेरिकामा उपचार गराएर फर्केका कोइराला अहिले सरकारी निवास बालुवाटारबाटै सरकार संचालन गर्दै आएका छन् । अधिकांश भेटघाट, सरकारी प्रतिवेदन बुझ्नेदेखि मन्त्रिपरिषद् बैठकसमेत बालुवाटारमा नै हुने गरेका छन् । जस कारण मन्त्रालयमा दैनिक हुने कामको जानकारी गराउन सचिवहरु बालुवाटार नै जानुपर्ने बाध्यता छ ।
विज्ञान, प्रविधि तथा बातावरण मन्त्रालयले भने सो मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री सुशील कोइरालालाई पद वहाल गराउने तयारी गरेको छ । मन्त्रालय स्रोतका अनुसार आगामी सोमवार प्रधानमन्त्रीले समयसमेत दिएका छन् । आगामी असोज १ गते विज्ञान दिवस मनाउने तयारी गरेको मन्त्रालयले सो मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका कोइरालालाई मन्त्रालयमै पद बहाल गराउने र असोज १ हुने मनाउने विज्ञान दिवसको प्रमुख अतिथि बनाउने तयारी गरेको छ । ‘आठ महिनादेखि मन्त्रालयमा मन्त्रीको उपस्थिति छैन’, मन्त्रालयस्रोतले भन्यो, ‘अहिले पनि सचिव जरुरी फायल बोकेर बालुवाटारमै धाउनुपर्ने बाध्यता छ ।’ सचिव कृष्णचन्द्र पौडेलको निकै मेहनतले सोमवार प्रधानमन्त्रीलाई मन्त्रालयमा बोलाइएर पद बहाल गर्ने वातावरण बनेको स्रोतले भन्यो ।
प्रधानमन्त्री कोइराला विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयमात्र होइन बाँकी रहेका रक्षा र गरिवी निवारण तथा सहकारी मन्त्रालयमासमेत उपस्थिति भएका छैनन् । रक्षा मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीले केही काम परेको अवस्थामा सचिवलाई प्रधानमन्त्री कार्यालयमा नै बोलाउने गरेका छन् । प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय एउटै भवनमा छ । ‘यति नजिकै भएका कारण पनि उहाँ(प्रधानमन्त्री) ले केही काम परे प्रधानमन्त्री कार्यालयमा नै बोलाउनु हुन्छ’, स्रोतले भन्यो, ‘यँहा आएर कुर्सीमा बसेर मात्र हुने होइन ।’
स्रोतका अनुसार गरिवी निवारण र वातावरण मन्त्रालय अहिलेसम्म उपेक्षमा परेका मन्त्रालय हुन् । ती मन्त्रालयमा जाने मन्त्रीदेखि सचिवसम्म तयार हुँदैनन् । ‘यसको कारण यी मन्त्रालयको देशव्यापी विस्तार नभएर पनि त्यसो भएको हुनसक्छ’, एक कर्मचारीले भने ।
आठ महिनासम्म मन्त्रालय मन्त्रीविहीन हुँदा मन्त्रालयले गर्नुपर्ने काममा सुस्तता आएको कर्मचारीहरु बताउँछन् ।