तपाईंका हाकिम पनि यस्तै छन् कि ?

167
  •  
  •  
  •  

 ‘जाउँजाउँ लाग्ने अफिस र आउँआउँ लाग्ने घर भएकाले जिन्दगी रमाइलो मात्रै होइन, महत्वपूर्ण पनि लागिरहेको छ ।’ कोरोना कहर घट्नुको सट्टा दिन प्रतिदिन बढिरहेका बेला हाल आठ महिनाकी गर्भवती पत्रकार सलोजा दाहालले भनिन्, ‘यस्तो अवस्थामा मेरो परिवार र कार्यालयको सहयोग हुँदैनथ्यो भने सायद जागिर पो छोड्नुपर्दथ्यो कि !’

लोग्शरी कुँवर

नेपालमा दुई जनामा कोरोना संक्रमण देखिएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चैत्र ११ गतेदेखि बन्दाबन्दी शुरु गर्यो । यस्तो अवस्थामा के गर्ने, कसो गर्ने, कसरी काम गर्ने लगायतका विषयमा अधिकांशमा अन्योलता थियो । गर्भवती, सुत्केरी, वृद्धवृद्धा, बालबालिका लगायत दिर्घ रोगीहरूमा कोरोनाको संक्रमण चाँडो हुने कुरा जनस्वास्थ्य विज्ञहरूले दिइरहेका थिए । यस्तो बेला भर्खर गर्भावस्थाको रिपोर्ट पोजेटिभ पाएकी सलोजालाई निकै तनाव महसुस भयो ।

रहरले दोस्रोपटक आमा बन्न लागेकी उनमा अनेकथरी प्रश्न, जिज्ञासा र डर उत्पन्न हुन थाल्यो । किनकी पहिलोपटक आमा बन्न लाग्दा उनले जागिरबाट हात धुनु परेको तितो अनुभव संगालेकी थिइन् । यद्यपि यसपटक सरकारी जागिर भएकाले त्यो डर त थिएन । उनले मन बलियो बनाइन् र कामलाई निरन्तरता दिइन् ।

साउन महिनासम्म कार्यालयले सबै पत्रकारलाई ल्याउने, पुर्‍याउने गर्यो । त्यसपछि गाडी उपलब्ध भएन । आफैँ स्कुटर चलाएर काममा जान नसक्ने भएपछि उनलाई समस्या हुनेभयो । उनले सुनाइन्, ‘दिनदिनै कार्यालयमा हाँजिर हुनुपर्ने, दिनमा एउटा रिपोर्ट तयार गर्नै पर्ने काम । अनेक बेचैनीका बीच कार्यालयको सहयोग आवश्यक रहेको बताएँ । मेरो प्रस्ताव जायज रहेको भन्दै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले तुरुन्त घरबाट ल्याउने, पुर्याउने र रिपोर्टिङ्मा जान गाडीको व्यवस्था गरिदिनुभयो ।’

सलोजा दाहाल

सलोजाको प्रस्ताव र कार्यकारी अध्यक्ष डा. विष्टको सहयोगी र मानवीय भावनाले केवल सलोजालाई मात्रै सहयोग भएन । नेपाल टेलिभिजनमा काम गर्ने अरु गर्भावस्थाका कर्मचारी महिलालाई पनि मद्यत पुग्यो । उनीहरूले पनि आवत जावतका लागि कार्यालयको गाडी प्रयोग गर्न पाइरहेका छन् । पत्रकार दाहालले भनिन्, ‘यस्तो संकटमा कार्यालय प्रमुख जिम्मेवार र लैंगिकमैत्री हुँदा कति फरक हुँदोरहेछ भन्ने कुरा प्रत्यक्ष भोगिरहेको छु ।’

डेढ दशकभन्दा लामो समयदेखी पत्रकारितामा आवद्ध सलोजा मान्छेबाट टाढा बस्नुपर्ने यस्तो महामारीका बेला दुई जिउकी हुँदा फिल्डमा गएर, हातमा बुम बोकेर मान्छेसँगै कुराकानी नगरी रिपोर्ट नबन्ने अवस्थामा घर परिवारको पूर्ण साथ र सहयोग नपाएको भए झनै काम गर्ने वातावरण नहुने बताउँछिन् ।

उनी भन्छिन्, ‘गर्भवती भएदेखि घरको सबै काम गर्नुपर्ने जिम्मेवारी मेरो मात्रै छैन । छोरा हेर्ने, पढाउने, खाना बनाउने, भाडा माझ्ने काममा श्रीमानले सघाउनुहुन्छ । उहाँ आफै जागिरे भए पनि मेरो विशेष अवस्था र पेशाप्रति सचेत हुनुहुन्छ । सबैभन्दा ठूलो कुरा उहाँ मलाई माया र इज्जत गर्नुहुन्छ । त्यसैको परिणाम मैले यो सुविधा पाइरहेकी छु ।’

गर्भवती भइसकेपछि समाचार शाखाका सहकर्मी लगायत आफू कार्यरत नेपाल टेलिभिजनको प्रशासनदेखि सवारी चालकको सहयोगी व्यवहार पाएका कारण आफूले धेरै पत्रकार महिलाले जस्तो आफूले पीडा भोग्न नपरेको अनुभव छ, सलोजासँग । ‘कामलाई माया गर्ने, इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने र सहकर्मीसँगको मित्रवत व्यवहारको परिणाम हो सायद’ पत्रकार दाहालले भनिन्, ‘नत्र भने यो बेला ममा जागिर छोड्नेसम्मको सोच आउन सक्थ्यो । म डिप्रेसनमा पनि जान सक्थे ।’

उनको बुझाइमा समय अनुसारका हाकिम हुँदारहेछन् । जस्तो छोराछोरी हुर्काइसकेका तर छोराछोरी हुर्काउन र गर्भवती सुत्केरी श्रीमतीप्रति कुनै माया र जिम्मेवारी महसुस नभएका, परिवार, दिदीबहिनी तथा महिलाप्रति हेय भाव भएका हाकिमबाट कार्यालयमा यो खालको व्यवहार हुँदैन ।

उनीहरू महिला र पुरुषका फरक अवस्था बारे जान्न र बुझ्न खोज्दैनन् । तर श्रीमान् श्रीमती दुइटै जागिरे भएका, छोराछोरी हुर्काउन भूमिका निर्वाह गरेका, महिलालाई सम्मान गर्ने व्यक्तिहरू संवेदनशील हुन्छन् । उनीहरू मान्छेका विशेष अवस्था बारे चनाखो हुन्छन् र मानवता प्रदर्शन गर्छन् । जुन सहयोग उपलब्ध गराउनेका लागि सानो हुन सक्छ तर पाउने व्यक्तिका लागि त्यसको धेरै ठूलो महत्व रहन्छ ।

कोरोनालाई बहाना बनाई पत्रकारलाई दुःख दिने, जागिरबाट निकाल्ने, वेतलवी काम गराउने लगायतका मानवताहिन काम गरिरहेका केही मूलधारका संचारमाध्यमबारे समाचार पनि प्रकाशित भइरहेका छन् । तर संचार गृह आफैँ समस्यामा हुनु या नहुनु भन्दा पनि त्यसका लगानीकर्ता, कार्यालय प्रमुख वा सम्पादकमा मानवता खोज्न नपरेको खण्डमा त्यहाँ कार्यरत पत्रकार वा अन्य कर्मचारीमा निरासा, एक्लोपन महसुस हुने, डिप्रेसन हुने, जागिर छोड्न मन लाग्ने जस्ता समस्या उत्पन्न नहुने बुझाई छ फोटो पत्रकार बर्षा शाहको ।

बर्षा शाह

देश सञ्चार अनलाइनमा कार्यरत उनी कोरोना महामारी र लकडाउन शुरु भएपछि हालसम्म कार्यालय प्रशासन देखी सम्पादक र सहकर्मीबाट पाएको सहयोग र हौसलाले आफूलाई जस्तोसुकै परिस्थितीमा पनि काम गर्न सक्छु भन्ने आत्मबल बढेको बताउँछिन् ।

लेख्ने पत्रकार भए कहिलेकसो घरबाटै काम गर्छु, आज कार्यालय आउन सक्दिन वा फिल्डमा जान सक्दिन भन्दा पनि हुन्थ्यो । तर फोटो पत्रकारितामा त्यो सम्भव भएन । फिल्ड नपुगी फोटै नहुने । ‘लकडाउन शुरु भइसकेपछि पत्रकारको ज्याकेट लगाएर हिँड्नुपर्यो । त्यसरी हिँड्दा धेरैले त पत्रकार भनेपछि कोरोना संक्रमित हुन् भन्ने बुझ्ने । गाह्रो पनि भयो काम गर्न’ उनले थपिन्, ‘यद्यपि कार्यालयको सहयोगी वातावरणले काम गर्ने उर्जा थप बढ्यो । मेरा पनि कोही छन् भन्ने महसुस भयो ।’

अस्पतालमा दिनरात नभनेर खटिएका स्वास्थ्यकर्मी, जनताका लागि भनेर सडकमा खटिएका सुरक्षाकर्मी, शव व्यवस्थापन लगायतका काममा खटिएका नेपाली सेना देखेर पनि यो बेला आफ्नो आत्मबल बढेको शाहले बताइन् ।

अफिस पुग्दा सम्पादक युवराज घिमिरे, अध्यक्ष रविनकुमार दाहाल, सहसम्पादक मनोज दाहाल लगायतले संकटमा काम गर्नुपर्दाका चुनौती, समस्या र अवसरसँग कसरी जुध्ने ? अनि आफू बाँचेर अरुलाई बचाउने खालका सामग्री कसरी खोज्ने भन्ने बारेमा पटक पटक सल्लाह, सुझाव र सहयोग दिँदा आफूलाई निकै सहज भएको पनि उनले बताइन् ।

यस्तै गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापाले पनि कार्यालयको सहयोगी भावनाका कारण यतिबेला आफूलाई निकै राहत महसुस भएको बताइन् ।

कविता थापा

शारीरिक अस्वस्थताका कारण यो बेलामा फिल्डमा गएर काम गर्न निकै अप्ठ्यारो झेलेको अनुभव सुनाउँदै पत्रकार थापाले भनिन्, ‘आफूलाई कहिलेकसो विसञ्चो हुँदा प्रधान सम्पादकले आज घर नजिकैबाट (भक्तपुर जिल्लाबाटै)काम गर्नुस् भनेर हौसला दिनुभयो । समस्याको बेला सम्पादकले यति भन्नु र गर्नु भनेको हाम्रो लागि ठूलो कुरा हो ।’ कार्यालयको हाकिम र सहकर्मी सहयोगी हुने हो भने जस्तोसुकै कठिन समयमा पनि कामप्रति वितृष्णा नजाग्ने थापाले बताइन् ।

त्यसै पनि नेपालमा कामकाजी महिलालाई घर, कार्यालय र सामाजिक काम गर्नुपर्ने अनेक जिम्मेवारी छन् । त्यसमा पनि जतिसुकै बेला, जहाँ पनि जानुपर्ने, जुनसुकै मान्छेसँग पनि काम गर्नुपर्ने पत्रकारिता पेशामा पत्रकार महिलाका चुनौती र समस्याका पहाड अग्ला छन् ।

कोरोनाका कारण भएको बन्दाबन्दी र त्यसपछिका समयमा अधिकांश पत्रकार महिलाले घर र कार्यालय असहयोगी हुँदा भोग्नुपरेका कठिनाइहरूको कुनै लेखाजोखा छैन । अरुका पीडा, व्यथा लेख्ने पत्रकार महिलाहरू आफ्नै पीर, मर्का लेख्न भने असमर्थ छन् । आफ्नै दुःख लेख्दा उल्टै परिवार, कार्यालय र समाजको तीर खेप्नुपर्ने पीरले उनीहरूले आफ्नै कथा थन्काइरहेका बेला एकाथ पत्रकार महिलाले परिवार र कार्यालयबाट पाएको सहयोग निकै उदाहरणीय रहेको बताउँछिन्, संचारिका समूहकी अध्यक्ष नितु पण्डित ।

पत्रकारितामा महिला र पुरुष भनेर काम हुन्न । तर विपद्, प्राकृतिक प्रकोप वा अन्य कुनै बेला महिला र पुरुषका फरक अवस्थाप्रति कार्यालय समझदार भइदिनुपर्ने पण्डितको भनाई छ ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (ईन्जा) एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष वरिष्ठ पत्रकार टंक पन्त कोरोना महामारीको असर पत्रकार महिलामा धेरै परेको बताउँछन् ।

‘पत्रकारिता ‘ड्यूटी’ मात्रै निर्वाह गर्छु भन्दा नहुने पेशा हो । यो महामारीमा घरबाटै काम गर्नुपर्दा पत्रकार महिलाहरूलाई दोहोरो, तेहोरो जिम्मेवारी थपिएको छ’ पत्रकार पन्त भन्छन्, ‘त्यसले उनीहरूमा मनोवैज्ञानिक असर परेको परेको छ । अरुका समाचार लेख्ने उनीहरू आफै समाचारका स्रोत भइरहेका छन् ।’ फिल्ड रिपोर्टिङ् गर्न नपाउँदा र छोराछोरी, घरपरिवार स्याहारेर तनावका बीच कार्यालयको काम पनि घरबाटै गर्नुपर्दा उनीहरूमा कार्य बोझ बढेको छ ।

यसले पत्रकारको सृजनशीलता हराउन सक्ने र तनाव बढ्न सक्ने खतरा पनि त्यत्तिकै रहेको उनको बुझाई छ । पत्रकार पन्त भन्छन्, ‘संवेदनशीलता, मानवता र परोपकार भावना नभएका मान्छे पत्रकार हुन सक्दैनन् ।

यसर्थ, पत्रकारका हाकिम र घरपरिवारले पनि उनीहरूको पेशाप्रति जिम्मेवार भइदिनु पर्छ । यसो हुँदा मात्रै पत्रकारितालाई दागरहित बनाउन जिम्मेवारी निर्वाह गरिरहेका पत्रकार महिलाबाट समाज र देशले थप उपलब्धी प्राप्त गर्न सक्छ ।’


  •  
  •  
  •