राजमार्ग खुलाउन कम्तीमा एक साता

115
  •  
  •  
  •  

काठमाडौं ३१ साउन । राजमार्गको धनुषास्थित रातु पुल भासिएर अवरुद्ध भएको यातायात खुलाउन भरपर्दो पहलका लागि स्थानीय राजनीतिक दल तथा समाजिक संघसंस्थाहरुले माग गरेका छन्।

शुक्रबार बर्दिबासमा बैठक गरी प्रमुख राजनीतिक दलहरु तथा समाजिक संस्थाका प्रतिनिधिले पुल भासिनुको मुख्य कारण देखिएको क्रसर व्यवसायीलाई कारबाही गर्न पनि माग गरेका छन्। ‘राजमार्ग जस्तो बहुसंख्यक जनताको सरोकार राख्ने पुललाई नै जोखिममा पार्नेगरी ढुंगा गिटी उत्खनन् गर्ने क्रसर व्यवसायीलाई कानुन बमोजिम कारवाहीको जोडदार माग गर्छौ’ शुक्रबारै उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा नेपाली कांग्रेसका बर्दिबास सभापति वैकुण्ठ कोइराला, एमाले अध्यक्ष गुञ्जबहादुर खड्का, एकीकृत नेकपा ९माओवादी० अध्यक्ष जयनारायण शर्मा, उद्योग वाणिज्य संघ बर्दिवास शाखाका महासचिव उद्धव खतिवडा र बर्दिवास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चुडामणि पोखरेलले हस्ताक्षर गरेका छन्।
राजमार्गकै पुल भासिएर आवागमन रोकिएपछि पुर्वी नेपालका जनतालाई राजधानीसँग जोड्ने एकमात्र सडकमार्ग अवरुद्ध भएको छ। यसबाट सर्वसधारणले खेप्नुपरेको समस्याबाट छुटकारा दिलाउन तत्काल वैकल्पिक मार्ग खुलाउन पनि विज्ञप्ती मार्फत माग गरिएको छ। राजमार्ग र रातुको पुललाई नै जोखिममा पारेर क्रसर उद्योगले स्काभेटर प्रयोग गरी ढुंगागिटी खन्न थालेदेखि नै आफुहरुले स्थानीय प्रशासनलाई बारम्बार ताकेदा गर्दा पनि सुनुवाइ नगरेको हुँदा यस्तो विपद आइपरेको काँग्रेस नेता कोइरालाले बताए।
वन क्षेत्र र सडक विभाग दुवैको मापदण्ड मिचेर त्यहाँ क्रसर उद्योग सञ्चालन सुरु गरिएको बेलादेखि नै स्थानीयले विरोध गरेका थिए। जिल्ला वन कार्यालय र सडक डिभिजनले पनि पटक–पटक पत्र लेखेरै जिल्ला प्रशासन कार्यालयलाई उक्त क्रसर बन्द गराउन घच्घच्याएका थिए। स्थानीय दिगम्बर महतोले भने, ‘स्थानीयको कडा विरोधको बावजुद तत्कालीन सिडिओले नै क्रसर सञ्चालकलाई सुरक्षा दिए, अहिले पुल भासिएपछि सरकारी निकायले देखावटी संवेदना मात्र देखाउन आउँछन्।’

मापदण्ड विपरित जिल्लामा सञ्चालित क्रसरहरुले चुरे र रातु किनारमा थुप्रै क्षति पुर्याडएको छ। रातुमा रहेको राजमार्गको पुल पनि क्रसर उद्योगकै कारण भासिएको विज्ञले जनाएको छ।
‘राजमार्गको पुलदेखि कम्तीमा पाँच सय मिटर दक्षिणबाट मात्र ढुंगागिटी निकाल्न पाउने नियम छ,’ सहरी डिभिजन कार्यालय जनकपुरका प्रमुख इन्जिनियर देवेन्द्र साहले नागरिकसँग भने, ‘यहाँ पुलमुनि क्रसर उद्योग नै सञ्चालनमा छ। सो क्रसरले स्काभेटर प्रयोग गरी पुल नजिकैको गिटी खनेपछि पहिले नै पुलमुनिको सतह अस्वभाविक रुपले गहिरिएको थियो। अहिले नदीमा बाढी आउनेबित्तिकै पुलको फाउन्डेशन मुनि पानी ठोकिएर पिलर भासिन पुगेको हो।’

रातु नदीको पुल भासिएर अवरुद्ध गरिएको यातायात खुलाउन कम्तीमा एक हप्ता लाग्ने सडक डिभिजन कार्यालय जनकपुरले जनाएको छ। नदीमा बाढी हुँदा पुल धस्ने क्रम जारी रहेको बताउँदै कार्यालयका प्राविधिक परमेश्वर यादवले भने, ‘सुरुमा ३६ सेन्टिमिटर धसिएको पुल बिहीबार दिउँसो १२ बजेसम्म ३८ सेन्टिमिटर, अपराह्न्न ६ बजेसम्म ३९।५ सेन्टिमिटर र शुक्रबार दिउँसोसम्म ४० सेन्टिमिटर तल धसेको छ।’
नदीमा पानी आउन रोकिएपछि तलबाट डाइभर्सन खोलेर तत्काल यातायात सुचारु गराउने योजना रहेको उनले बताए। डाइभर्सन निर्माण सुरु गर्न पनि नदीको बहाव कम हुनुपर्ने बताउँदै उनले थपे, ‘आज ९शुक्रबार० वर्षा कम भएको छ, राति ठूलो वर्षा भएन भने भोलिदेखि नै डाइभर्सन निर्माण थाल्छौं।’ शनिबारैदेखि निर्माण सुरु गरेपनि यातायात खुलाउन कम्तीमा एक हप्ता लाग्ने उनले बताए।
यता, बुधबारै रातिदेखि राजमार्गमा यातायात अवरुद्ध गरिएपछि रातु पुलको दुवै तर्फ मालवाहक ट्रकको लाम लागेको छ। नागरिक दैनिकको विराटनगरस्थित कार्यालयका लागि ल्याउँदै गरेको कागज बोकेको ट्रक पनि बिहीबार बिहानैदेखि बर्दिबासमै रोकिएको छ। सडक डिभिजनले वैकल्पिक मार्गको रुपमा बर्दिवास–जलेश्वर–जनकपुर–ढल्केवर ९८० किलोमिटर लामो० खण्ड खोलिदिए पनि बाटो जीर्ण रहेकाले बढी लोड भएको ट्रक गुड्न सहज नभएको चालक बताउँछन्। नागरिकबाट


  •  
  •  
  •