एक ह्याकरलाई ३ सय ३४ वर्ष जेल सजाय

229
  •  
  •  
  •  

काठमाडौँ, २८ पुस(ओएनएस) : टर्कीमा एक ह्याकरलाई अदालतले ३ सय ३४ वर्ष जेल सजाय सुनाएको छ । टर्कीका ह्याकर ओनुर काप्केकलाई मानिसहरूको क्रेडिट कार्डको डिटेल चोरेको आरोपमा उक्त सजाय सुनाएको हो ।

ओनुरसहित ११ जना अन्य ह्याकरहरूलाई पनि सन् २०१३ मा वेबसाइट फिसिङ गरेको आरोपमा पक्राउ गरिएको थियो । यस वेबसाइटमार्फत बैंकको क्रेडिट कार्डको सबै डिटेल लिने गर्थे । मानिसहरूले वेबसाइटलाई आधिकारिक बैंकको वेबसाइट ठानेर झुक्किन्थे र आफ्नो क्रेडिट कार्डको जानकारी उक्त वेबसाइमा भर्थे ।

सन् २०१३ मा ओनुरमाथि केही आरोप लगाइएको थियो, जसमा आईडेन्टिटी फ्रड, एक्सेस डिभाइस फ्रड, वायर फ्रड र वेबसाइट फर्जरीको आरोप रहेका थिए । सोही वर्ष ४३ बैंकका ग्राहकले उनको विरूद्ध मुद्धा दर्ता गरेका थिए । उक्त मुद्धा पछि अदालतले ओनुरलाई १ सय ९९ वर्ष ७ महिनाको जेल सजाय सुनाएको थियो ।

टर्कीको समाचार अनुसार अदालतले १० जनवरीमा अर्को मुद्धा दर्ता भएपछि ओनुरले ११ वटा क्रेडिट कार्डको डिटेल बेचेको आरोपमा दोषी पाइएको थियो । यसपछि अदातलले उनको सजाय बढाएर ३ सय ३४ वर्ष कैदको आदेश दिएको हो ।


  •  
  •  
  •