प्रधानमन्त्रीलाई कांग्रेसको ज्ञापनपत्र

211
  •  
  •  
  •  

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापनपत्र बुझाएको छ ।

बुधबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएका नेताहरूले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष बुझाएको हाे ।

प्रतिनिधिमण्डलमा नेताहरू गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक गरी पाँच जना सहभागी थिए ।

उक्त अवसरमा प्रधानमन्त्रीले ज्ञापनपत्रमा उल्लेखित सुझावहरूलाई सकारात्मक र गंभीरतापूर्वक लिएर आवश्यकताअनुसार कार्यान्वयन गरिने जानकारी गराएका थिए।

कांग्रेसको ज्ञापनपत्रमा भनिएको छ, ‘कोभिड १९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गरियोस् । पीसीआर परीक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गरियोस् ।’

कांग्रेसले मापदण्डअनुसार क्‍वारेन्टिनको उचित व्यवस्थापन र सञ्चालन गरी पिउने पानी, खाना, सुरक्षित दूरीसहित बस्‍ने व्यवस्था र शौचालयको व्यवस्था गर्न पनि सुझाएको छ ।

‘उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधि, एम्बुलेन्स, परीक्षण तथा नियमित परामर्शको व्यवस्था गरियोस् । क्‍वारेन्टिन सञ्चालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत तत्काल उपलब्ध गरियोस्,’ ज्ञापन पत्रमा उल्लेख छ ।

सरकारले राजनीतिक आस्था र आग्रहका आधारमा स्थानीय तहलाई हेरिरहेको भन्दै कांग्रेसले तत्काल यस्तो कार्य तत्काल बन्द गर्न सचेत गराएको छ ।

कांग्रेसले विपद्‍बाट जोगिन विश्वसनीय प्रविधिवाट बढीभन्दा बढी नागरिको परीक्षण व्यवस्था गर्न, पीसीआर परीक्षण गर्नु पर्नेको दायरा विस्तार गरेर क्‍वारेन्टिनमा राखिएका सवैलाई पीसीआर विधिबाट परीक्षण गरेपछि मात्रै घर पठाउनुपर्नेमा जोड दिएको छ । ‘मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परीक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस्,’ कांग्रेसले भनेको छ ।

कोरोना संक्रमणको उपचारका लागि तोकिएका अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधि, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गर्न र अन्य रोगका सम्बन्धमा सवै सेवा बिना अवरोध पाउने सुनिश्चिता गर्न पनि सरकारसँग माग गरिएको छ । कांग्रेसले लकडाउनको अवधिमा सयौं मानिसहरुले आत्महत्या गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीलाई बुझाएको ध्यानाकर्षण पत्रमा लेखेको छ, ‘यसले नागरिकको राज्यका प्रति चरम निराशा देखाउँछ । यस्ता समस्याको समाधानका लागि सरकारले आवश्यक कार्य गरोस् ।’

राष्ट्र विपतमा परेका बेला स्वास्थ्य सामग्री खरीदमा निरन्तर भ्रष्टाचार हुनुलाई कांग्रेसले निर्लज्ताको पराकाष्ठाभनेको छ । ‘सरकार कोभिड १९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ । त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गरियोस् । हालसालै पनि स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ । यी सबै भ्रष्टाचार, अनियमितता बारे छानबिन गरी तत्काल सार्वजनिक रुपमा जानकारी गरियोस्,’ कांग्रेसले ध्यानाकर्षण पत्रमा माग गरेको छ ।

कांग्रेसले राहत दिनु पर्ने श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरणको व्यवस्था गर्न, राहतका खाद्य सामग्रीको गुणस्तर कायम गर्न, भनसुन र राजनीतिक आग्रहका आधारमा राहतको वितरण गर्ने काम बन्द गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।


  •  
  •  
  •