ज्ञानदेव बाबाले भने, ‘जनसंविधान बन्नबाट चन्द्र र सूर्यले रोक्न सक्दैन’

389
  •  
  •  
  •  

GURUकाठमाडौं, २२ मंसिर (ओएनएस) : देवदास भण्डारी (ज्ञानदेव बाबा)ले नेपालमा जनसंविधान बन्नबाट आकाशको चन्द्र र सूर्य खसेपनि कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

सल्यानका भण्डारीले नेपालमा नयाँ जनसंविधान लेख्न आफू गुरूको अवतार लिएर जनमानसमा उभिएको बताउँदै अब कसैले पनि संविधान पाउनबाट बञ्चित हुन नपर्ने स्पष्ट पारेका छन् । उनले ‘‘राष्ट्र जोगाउँ, आफ्नो संविधान आँफै बनाऔं’’भन्ने मूलनारा समेत अघि सारेका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूले दिने संविधानले देशका सम्पूर्ण नेपालीहरूको भलो गर्ने समेत दाबी गरेका छन । उनले आफूले एक दशक समय खर्चेर प्राप्त गरेको बुद्धत्वलाई निःशुल्क रूपमा राष्ट्र र राष्ट्रबासीको हितको लागि उपयोग गर्ने भन्दै यस पुण्य कार्यमा सबैले सहयोग गर्नुपर्ने समेत बताए ।

राष्ट्र ऋणबाट मुक्त हुन नसकेको अवस्थामा आफूले राष्ट्रलाई समेत ऋणमुक्त बनाउने दाबीगर्दै राजनीतिक तानातानीको कारण नेपालले ठूलो पीडा भोग्नुपरेको समेत भण्डारीले आरोप लगाएका छन् । उनले दशकौं लगाएर प्राप्त गरेको बुद्धत्वबाट देश र जनताको हितमा काम गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई समेत मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने–‘‘म दाबाका साथ तपाईहरुलाई भन्छु कि नेपालमा जरो गाडेर बसेको भ्रष्टाचारलाई समेत निर्मुल पारेर देखाईदिन्छु, त्यसैगरी महँगीको पनि पुरै नियन्त्रण गरि सर्वसाधारण जनताको सामू प्रमाणित गर्छु ।’’

त्यस्तै, उनले नेपालमा व्याप्त रहेको महिला हिंसा, बलात्कार, मानवअधिकार उल्लंघन लगायतका घटनाहरुलाई देशबाटै पूर्ण रुपमा नियन्त्रण गरि सबैलाई समान अधिकारको प्रत्याभूति समेत दिलाउन आफ्नो बुद्धत्वले कामगर्ने उद्घोष गरेका छन् ।

भण्डारीले आफूमा राष्ट्रिय अवतारको महात्मा भएकोले आफूले देखेका सबै कुरा सत्य भएको भन्दै यसमा सबैले विश्वास लिए जिवितै स्वर्गलोक भेटाउन सक्ने समेत विश्वास व्यक्त गरेका छन् ।


  •  
  •  
  •