गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे आन्दोलन

252
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले सरकारले निर्णयार्थ प्रस्तुत गरेको गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे आन्दोलन चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्षद्धय राणा र लोहनीले संसदमा प्रस्तुत उक्त विद्येयकले नेपालको परम्परागत सहकार्य र समन्वयमा अडेको धार्मिक र सांस्कृतिक संरचना भत्काउने दाबी गरे ।

अध्यक्षद्धयले उक्त विद्येयकले नेपालीहरुको धार्मिक निष्ठा र विश्वासको जगलाई खलबलाउने, सनातन धर्ममाथि घात, धार्मिक र सांस्कृतिक क्रियाकलापको राजनीतिकरण गर्ने, परम्परागत गुठीको सामूहिकताको व्यवस्थालाई सखाप पार्ने र सरकारी सहयोगबाट गुठीको सम्पत्ति भूमाफियाको स्वार्थमा परिचालन गर्ने संभावनालाई अगाडि बढाउने देखा परेको आरोप लगाए ।

अध्यक्ष जबराले भने,‘जुन रुपमा यो विद्येयक पेश भएको छ, त्यो पारित हुन गए नेपाली जनताको सांस्कृतकि विनास भई देशप्रति अपराध गरेको ठहरिनेछ ।’ उनले नेपालीको गुठीको संरचनाले नेपाली संस्कृति, कला र आस्थाको अभिव्यक्तिको रुपमा छरिएर रहेका काठमाडौंमा उपत्यका र देशभर छरिएर रहेका धार्मिक र सांस्कृतिक संस्थाहरुको व्यवस्थापनमा विकेन्द्रित संरचना कायम गर्दै आएको सुनाए ।

अध्यक्ष जबराले आफूहरु हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि पनि सडकमा उत्रिने जनाए ।
अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उक्त विद्येयकले अक्षयकोष खडा गर्ने नाममा गुठीका जग्गा व्यक्तिकरण गरी सरकारी मूल्यांकनको २५ प्रतिशत लिएर विक्रि गर्न पाउनेगरि हजारौं रोपनी÷विगाह जमिनलाई कौडीको भाउमा बेच्ने नियत राखेको आरोप लगाए ।

लोहनीले उक्त विद्येयकमार्फत सरकारले व्यवसाय गर्ने दाउ राखेको पनि आरोप लगाए । उनले हाल जुन रुपमा ऐन आएको छ त्यो राष्ट्रघाती रहेको पनि टिप्पणी गरे ।


  •  
  •  
  •