गुठीसम्बन्धी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण

84
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले गुठीसम्बन्धी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठक शुरु हुने बित्तिकै सांसदहरुले विधेयक फिर्ता लिन माग गरे । उनीहरुले काठमाडौंका गुठीयारले आन्दोलन शुरु गरेको भन्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत ध्यानाकर्षण गराए ।

बैठकमा कांग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकार निकायसित छलफल गरी परिमार्जन गर्न आग्रह गरे ।

सभामुख कृष्णबहादुर महरासँग समय लिएर उनले प्रस्तावित विधेयकमा पुस्तौँ पुस्तादेखि सञ्चालित निजी गुठीलाई सार्वजनिक गुठीमा रुपान्तरण गरी प्राधिकरण सञ्चालन गर्न खोज्नु आपतिजनक रहेको बताए ।

राष्ट्रिय जनता पार्टीका सांसद अनिलकुमार झाले लोकसेवा आयोगले प्रकाशित गरेको स्थानीय तह कर्मचारी भर्नासम्बन्धी विज्ञापन फिर्ता लिन, विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे ।

उनले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन आग्रह गर्दै धर्म संस्कृति रक्षा गर्न गुठीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

बैठकमा सभामुख महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । बैठक अहिले जारी छ ।

हेर्नुहोस् प्रत्यक्ष प्रसारण


  •  
  •  
  •