गुठी विधेयक अब नयाँ शिराबाट अघि बढ्छ : प्रचण्ड

353
  •  
  •  
  •  

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुठी विधेयकका बारेमा जनताको असन्तुष्टि देखा परेपछि फिर्ता लिइएको बताएका छन् ।

प्रेस संगठन नेपालले कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘गुठी सम्बन्धी विधेयकमा नयाँ शीराबाट अघि बढ्छ । सबै गुठीहरु एकै प्रकृतिका छैन, सबै समस्याको हल हुने गरी विधेयक आउँछ ।’
अध्यक्ष दाहालले विधेयकहरुबारे रहेका प्रावधानहरुका बारेमा जनतालाई बुझाउन नसकिएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले पार्टी एकता प्रक्रिया मुलुकलाई सफलतामा अघि बढाउने कुरासँग जोडिएको बताए । उनले भने, ‘अहिले देशको र सरकारको नेतृत्व गर्ने पार्टी हुनुको नाताले यो पार्टीको एकता प्रक्रियालाई अन्तिम रुप दिने र तलसम्मका कमिटिहरुको परिचालन गर्ने कुराले देशको, सरकारको र समग्र विकास प्रक्रियाका निम्ति रणनीतिक अर्थ राख्छ । यो कुराको बोध हामी सबैलाई छ र हामी त्यसैमा अन्तिम रुपले प्रयासरत छौं ।’

उनले जनताको जनादेशकै कारण पार्टी एकता भएको भन्दै एकताका बेला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने बताए ।
दुई अध्यक्ष बीच एकैपटक टुंग्याउने भनेर सल्लाह भएको र आइतबार सचिवालयको बैठक बसी एकता प्रक्रिया सबै टुंग्याउने कसरतमा रहेको अध्यक्षको भनाई थियो ।

उनले भने, ‘सरकारले पहिलो वर्षलाई आधार वर्षको रुपमा मानेर संवैधानिक र कानूनी रुपले गर्नुपर्ने कामहरु पनि यो वर्ष टुंग्याउनु पर्छ ।’
उनले पार्टी एकताका लागि यसअघि भएका सहमति र सम्झौता विपरित जाने छुट कसैलाई नभएको स्पष्ट पारे ।
उनले पार्टी एकता र सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाएर लैजाने बारेमा पनि आफुहरु गम्भीर भएको बताए ।

उनले भने, ‘पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति निकै अघि नै सार्वजनिक भएको हो, अहिले नै त्यो विषयलाई चर्चा र विवादमा ल्याउन कोही नै कोही खेलिरहेको छ ।’
उनले अर्को प्रसंगमा विप्लव समूह राजनीतिक प्रक्रियामा आउनुको विकल्प नरहेको बताए ।


  •  
  •  
  •