कोइरालाको भन्दा ज्ञानेन्द्र र विरेन्द्रको काम राम्रो : देव गुरुङ

77
  •  
  •  
  •  

पाल्पा, १५ असोज ।  नेकपा–माओवादीका सचिव देव गुरुङले सरकार टिकाउनका लागि प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई अहित हुने गरी भारतीय कम्पनी जिएमआरसँग माथल्लो कर्णाली जलविद्युत परियोजनाको परियोजना विकास सम्झौता अर्थात पिडिए गरेको आरोप लगाएका छन् ।

पिडिए सम्झौताले नेपालको अधिकार भारतको कुनै प्रान्तको भन्दा पनि कमजोर बनाएको गरुङको आरोप छ ।  भारतीय शासकको नेपालको जलस्रोत कब्जा गर्ने रणनीतिमा प्रधानमन्त्री कोइराला फसेको भन्दै उनले राष्ट्रियताको रक्षाकालागि पुर्व राजा वीरेन्द्र र ज्ञानेन्द्रले कोइरालाले भन्दा राम्रो काम गरेको बताए।

नेकपा–माओवादी पाल्पाले बुधबार तानसेनमा गरेको राष्ट्रिय स्वाधिनता र नेपालको जलस्रोत निति विषयक अन्तरक्रिया कार्यक्र्रममा सचिव गुरुङले भारतले भनेको तीन कुरा नमान्दा वीरेन्द्रको हत्या भएको दावी गरे । माओवादी दबाउन सेना प्रयोग, नेपालका जलस्रोत भारतीय कम्पनीहरुलाई सुम्पिन र नेपालका सबै सुरक्षा संयन्त्र भारतको जिम्मा लगाउनेलगायतका कुरा नमान्दा वीरेन्द्रको हत्या भएको गुरुङले दावी गरे  ।

भारतको स्वार्थ पुरा नगर्दा ज्ञानेन्द्रपनि सत्ताबाट हट्नु परेको भन्दै उनले कांग्रेस र एमाले भित्रका नेता र प्रतिपक्षहरुको दबाबका बाबजुद सुशील कोइरालाले गरेको निर्यातमुखी पिडिए सम्झौतामा पनि धेरै रहस्यहरु लुकेको बताए ।


  •  
  •  
  •