विद्यालयमा आक्रमणपछि पाकिस्तानी शिक्षक बन्दुक चलाउने तालिम लिँदै

243
  •  
  •  
  •  

काठमाडौं १४ माघ । पाकिस्तानको दक्षिणपश्चिमी भागमा गत महिना तालिवानले एक विद्यालयमा आमहत्या गरेपछि सुरक्षा व्यवस्था बलियो बनाउन हाल शिक्षकहरूलाई हतियार चलाउने तालिम दिइएको छ र उनीहरूलाई कक्षामै बन्दुक लिएर जान अनुमति दिइने भएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी प्रमुख नगर पेसावरमा सेनाले सञ्चालन गरेको विद्यालयमा डिसेम्बर १६ मा हतियारधारी लडाकूले रक्तपातपूर्ण आक्रमण गरी १५० व्यक्तिको हत्या गरेका थिए भने त्यसमा १३२ बालबालिका परेको बताइएको छ ।
उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तका शिक्षा मन्त्री अतिफ खानले मङ्गलबार प्रत्येक शिक्षकलाई हतियार बोक्न बाध्य नबनाइने तर विद्यालयमा बन्दुक लैजान चाहने सबै शिक्षकलाई अनुमति दिइने बताए ।
प्रान्तीय सूचनामन्त्री मुस्ताक गानीले उक्त निर्णयको पुष्टि गरे र उनले सरकारले सञ्चालन गरेका सबै शैक्षिक संस्थालाई प्रहरी सुरक्षा उपलब्ध गराउन प्रान्तले नसक्ने बताए ।
उनले पैँतीस हजार विद्यालय, कलेज तथा विश्वविद्यालयलाई सुरक्षा गर्न प्रान्तसँग पर्याप्त प्रहरी नभएको र यसै कारण आफूहरूले शिक्षकलाई बन्दुक बोक्न अनुमति दिएको बताए ।
गत साता अधिकारीहरूले शिक्षकलाई कसरी बन्दुक चलाउने भन्ने तालिम दिए र महिला पशिक्षार्थीहरूको पछिल्लो समूहले हाल डोरीका विषयमा तालिम प्राप्त गरिरहेको देखिएको छ ।
पेसावरको प्रहरी मुख्यालयका प्रशिक्षक मोहम्मद लतिफले यो दुई दिने तालिम भएको र आफूहरूले बन्दुक बोक्ने र त्यसलाई सञ्चालन गर्ने तालिम दिइरहेको बताए ।
पाकिस्तानले हाल मुलुकभरका विद्यालयमा सुरक्षा व्यवस्था बलियो बनाइरहेको छ । यी विद्यालयका पर्खाल अग्लो बनाइएको छ भने त्यसमा स्टिलको तारको बार राखिएको छ । पाकिस्तानमा प्रहरीको सङ्ख्या पनि बढाइएको छ । निजी विद्यालयलाई थप सुरक्षाकर्मीको व्यवस्था गर्न आदेश दिइएको छ ।
निजी विद्यालय शिक्षक सङ्घका अध्यक्ष मलिक खालिद खानले शिक्षकलाई हतियार दिने पाइलाको विरोध गरे ।  उनले एउटा शिक्षकले एक हातमा बन्दुक तथा अर्को हातमा पेन राखेर कसरी पढाउन सक्छ र भनी प्रश्न गरे ।
उनले यो शिक्षकको काम नभएको र शिक्षकले पुस्तक पढाउनुपर्ने बताए ।  उनले कक्षाकोठामा बन्दुक लिएको शिक्षकले विद्यार्थीमा निकै नकारात्मक प्रभाव पार्ने बताए । उनले सरकारसँग प्रहरीको सङ्ख्या कम भए थप प्रहरी नियुक्त गर्नुपर्ने बताए ।

  •  
  •  
  •