वीरगञ्ज तनावग्रस्त, गोली चल्यो तीन घाइते

290
  •  
  •  
  •  

काठमाडौ, १५ भदौ(ओएनएस) : मधेश बन्दको १७ औं दिन आज वीरगञ्जको अवस्था तनावग्रस्त बनेको छ । केही बेरअघि अस्पतालभित्र चलेको गोली लागेर तीन जना घाइते भएका छन् ।

वीरगञ्जको नारायणी क्षेत्रीय अस्पतालमा चलेको गोलीबाट अस्पतालका १ जना कर्मचारी घाईते भएका छन् । उपचाररत घाईते मोर्चाका कार्यकर्ताहरूसँग भेटघाट गर्न अस्पताल पुगेका सद्भावना अध्यक्ष राजेन्द्र महतो लगायतका नेतासँगै पुगेका कार्यकर्ताहरूसँग प्रहरीको झडप भएपछि गोली चल्दा अस्पतालका कर्मचारी घाइते भएका हुन् । गोली अस्पताल परिसरभित्र चलेको र प्रहरीले चलाएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

हिजो बेलुकी ४ बजे देखि लगाईको कर्फयूको बावजुद पनि विरगञ्जका विभिन्न चोकहरुमा प्रदर्शन र झड्पको क्रम रोकिएको छैन । आज पनि बिहानैदेखि मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघर, पावरहाउस चोक, नगवा, लक्ष्मणवा प्रतिमा चोक, गण्डक, मुर्ली, ड्राईपोर्ट लगायतका ठाउँहरुमा टायर बालेर तथा ठाउँ ठाउँमा पोल ढालेर सडक अवरूद्ध गरी प्रदर्शन गरिरहेका छन् । प्रहरीको गोलीबाट हिजो बेलुकी पर्सा मनियारी निवासी दिलिप चौरसियाको मृत्यु भएको छ ।

यता पर्साका ग्रामीण क्षेत्रमा समेत हिजो देखि आन्दोलनले उग्र रुप लिएको छ । हिजोको प्रहरी ज्यादतीको विरुद्धमा पर्साका ग्रामीण भेगमा अवस्थित अधिकांश प्रहरी चौकीहरु जलाईएका छन् । प्रदर्शनकारीहरुले पर्साको भिष्वा, बहुअर्वा भाठा, महुवन, बुडगाइँ लगायतका प्रहरी चौकीहरुमा आगजनी गरी तोडफोड गरेका छन भने चौकीहरुलाई सदरमुकाम वीरगञ्जमा फिर्ता बोलाउने कार्य तिब्र रुपमा भईरहेको छ ।


  •  
  •  
  •