पर्वत पहिरोः मृत्यु हुनेको संख्या ६ पुग्यो, तीन जना वेपक्ता(अपडेट)

306
  •  
  •  
  •  

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा शनिबार राति गएको पहिरोले पुरिँएर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा, नातिनीको मृत्यु भएको छ । थप तीनजनाको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए । तुलबहादुर थापाको ६ जनाको परिवार र कमला विकको ३ जनाको परिवार पहिरोले पुरेको हो । ९ मध्ये ६ जनाको शव फेला परेको हो । पहिरोमा परेर अझै तीनजना बेपत्ता छन् ।

उद्धारकर्मीले शनिबार राति तीनजनाको र आइतबार बिहान तीन शव फेला पारेको हो ।
खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । शनिबार भारी वर्षा हुँदा पहिरो गएको हो ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पहिरोमा परी ठूलो जनधनको क्षतिप्रति स्तब्ध भएको बताएका छन् । मुख्यमन्त्री गुरुङले पहिरोमा परी मृत्यू हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै वेपत्ता भएकाहरु सकुशल फेला पर्ने अपेक्षासहित खोजी तथा उद्धार कार्यमा जुट्ने सवैप्रति धन्यवाद प्रकट गरेका छन् ।


  •  
  •  
  •