गुल्मीमा कोरोना संक्रमितको मृत्यु

285
  •  
  •  
  •  

गुल्मी । गुल्मीको तम्घासस्थित आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–४, जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो । उनको शवलाई शनिबार राति नै नेपाली सेनाको टोलीले जैसीथोककै खोचेपानी सामुदायिक वनमा व्यवस्थापन गरेको छ ।

उनलाई जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै कोरोना पुष्टि भएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल निको भएर काममा फर्केका छन् । जेठ २ गते भारतबाट आएर पाञ्जायन माविको क्वारेन्टाइनमा बसेका थिए ।

कोरोना पुष्टि भएपछि तम्घासस्थित रेसुंगा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार हुँदै आएको थियो । उनी क्यान्सरका बिरामी थिए । भारतमा क्यान्सरको शल्यक्रिया गरी फर्कंदा उनी संक्रमित भएको देखिएको थियो । तीन पटकसम्म गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ आएपछि उनको आइसोलेसनमै उपचार भइरहेको थियो ।

गुल्मीमा संक्रमितको संख्या १२ पुगेको छ । २ जनाको मृत्यु भएको छ । दुई जना निको भएर घर फर्केका छन् । बाँकी ८ मध्ये एक जनाको काठमाडौं, तीन जनाको तम्घास र अन्यको सम्बन्धित गाउँपालिकाले तयार गरेको आइसोलेसनमा उपचार भइरहेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।


  •  
  •  
  •