गुल्मी पहिरोमा ज्यान गुमाएका १३ जनाकै शव आफन्तलाई बुझाइयो

252
  •  
  •  
  •  

गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोले ज्यान गुमाएका १३ जनाकै शव आफन्तलाई जिम्मा लगाइएको छ ।
बेपत्ता सबैको शव भेटिएपछि पोष्टमार्टम गरेर शुक्रबार आफन्तलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

गएको मंगलवार राति अविरल वर्षासँगै आएको पहिरोमा परी सत्यवति गाउँपालिका वडानम्बर ३ र ४ को लिम्घा र ठूलो लुम्पेकमा डेढ वर्षीय बालक सञ्जु विकसहित तारा विक, माया विक, बबी विक, निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक, सिवानी विक, तिलकुमारी तरामु, दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको थियो ।

घाइते ठूलो लुम्पेकका करिष्मा र धनी त्ररामुलाई भने दुई दिनपछि हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडौं लगिएको छ । उनीहरुको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतका परिवारलाई तत्कालको लागि क्रियाखर्च उपलब्ध गराएको छ । थप राहतको लागि केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरिरहेको प्रमुख जिज्ला अधिकारी पौडेलले बताए ।

पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि हेलिकोप्टरमार्फत २० क्वीन्टल चामल, दुई क्वीन्टल दाल र एक क्वीन्टल चिउरा ठूलो लुम्पेकमा पुर्याइएको छ । पहिरोले ठूलो मानवीय क्षति भएकोले दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ ।


  •  
  •  
  •