सनसनीपूर्ण खेलमा दिल्ली १ रनले पराजित, गुजरात शीर्ष स्थानमा

156
  •  
  •  
  •  

काठमाडौँ, १६ बैशाख(ओएनएस) : जारी इण्डियन प्रिमियर लिग(आईपिएल)को गयराती सम्पन्न खेलमा गुजरात लायन्सले १ रनको सनसनीपूर्ण जीत हासिल गरेको छ । लायन्सले दिल्ली डेयरडेभिल्सलाई मात्र १ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

१ सय ७३ रनको विजय लक्ष्य पछ्याएको दिल्ली मात्र १ सय ७१ रनमा समेटिएपछि खेल गुजरातले आफ्नो पक्षमा पार्न सफल भएको थियो । आफ्ना प्रारम्भिक ब्याटस्म्यानहरूलाई सस्तैमा समेटेपछि दिल्लीको पारी धरमराएको थियो । मात्र १६ रन जोड्दा ३ विकेट गुमाएको अवस्थाबाट जेपी डुम्नी र रिसब पन्तले केही उकासेका थिए । रिसब पन्त २० रन जोडेर आउट हुँदा टोलीको स्कोर मात्र ५७ रन थियो ।

तर, त्यसपछि ब्याटिङमा आएका क्रिस मोरिसले निकै बिस्फोटक ब्याटिङ गरेपछि दिल्ली जित नजिक पुगेको थियो । क्रिस मोरिसले डुम्नीसँग मिलेर ८७ रनको साझेदारी गरेका थिए । डुम्नी ४८ रनमा आउट हुँदा मोरिसले अविजित रहँदै ८२ रन जोडेका थिए । उनले मात्र ३२ बलमा ४ चौका र ८ छक्काको मद्दतले ८२ रन जोडेपछि टोली जित नजिक पुगेको थियो तर, जितका लागि आवश्यक १ सय ७३ रन भने जोड्न सकेन । ५ विकेट गुमाएर मात्र १ सय ७१ रन जोडेपछि १ रनले पराजित हुन पुग्यो ।

यसअघि ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरको खेलमा आफ्ना ६ विकेट गुमाउँदै १ सय ७२ रन जोडेको थियो । गुजरातका लागि ब्राण्डन म्याकुलमले ६० रन जोडेका थिए भने ड्वेन स्मिथले ५३ रन जोडेका थिए । यस्तै, जेम्स फल्कनरले अविजित २२ रन जोडेका थिए । यता दिल्लीका लागि इमरान ताहिरले ३ विकेट लिएका थिए भने क्रिस मोरिसले २ तथा जेपी डुम्नीले १ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच ३२ बलमा ८२ रन र २ विकेट लिएका क्रिस मोरिस घोषित भएका छन् ।

आजको खेल मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्सबीच हुनेछ ।


  •  
  •  
  •