गुणस्तरहीन औषधि बिक्री वितरण गर्नेलाई कारबाही गर्छौ : उपप्रधानमन्त्री यादव

102
  •  
  •  
  •  

काठमाडौं, ३१ वैशाख(ओएनएस) : गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसललाई सरकारले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ बिना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजना रहेको बताए ।

चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने उनको भनाइ छ ।  सरकारले सिँधै कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको समेत उनले बताए ।

सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महंगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैँले सिँधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भैरहेको पनि उनले बताए ।

यस्तै उपप्रधानमन्त्री यादवले संविधान कार्यान्वयन गर्न बनेका प्रजनन स्वास्थ्य तथा जनस्वास्थ्य ऐनको प्रभावकारी कार्यान्वयन गर्न नियमावली आउन लागेको जानकारी दिँदै कर्मचारी समायोजन प्रक्रियाले स्वास्थ्य क्षेत्रमा असर परेको बताए ।

उनले भने, ‘समायोजनले व्यथा दियो, यो व्यथा कहिल्यै निको नहुने भयो । स्वास्थ्य सेवा प्रभावमा समेत असर पर्न थाल्यो ।’ स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्न आवश्यक रहेकामा जोड दिँदै उनले स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ नीति ल्याउन लागिएको जानकारी दिए ।

बैठकमा समितिका सभापति जयपुरी घर्तीलाई स्वास्थ्य तथा जनसंख्या उपसमितिका संयोजक खगराज अधिकारीले प्रतिवेदन हस्तान्तरण गरेका थिए । विसं २०७५ मंसिर २ गते गठित सो उपसमितिमा समितिका सदस्य उमाकान्त चौधरी, गगनकुमार थापा, भैरवबहादुर सिंह, मनकुमारी जिसी, नमिताकुमारी चौधरी र हितबहादुर तामाङ सदस्यका रुपमा रहेका थिए ।


  •  
  •  
  •