रक्षा रेग्मी
काठमाडौं ३२ असार (ओएनएस) । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा अधिकांश औद्योगिक वस्तुको उत्पादनमा बृद्वि भएको छ ।
देशको कूल गार्हस्थ उत्पादनमा ८० प्रतिशत भन्दा बढी सहयोग गर्ने यस्ता ४४ ओटा औद्योगिक वस्तुमध्ये ३१ वस्तुको उत्पादन बढेको केन्द्रीय तथ्याङ्क विभागले बताएको छ । अन्य १३ वस्तुको उत्पादनमा भने १२ देखि १८ प्रतिशतसम्म कमी भएको बताइएको छ ।
त्यसमध्ये चिनीको उत्पादन बृद्विदर सवैभन्दा बढी २ सय ५५ प्रतिशत रहेको छ । यो उत्पादन दर हालसम्मकै उच्च भएको विभागका महानिर्देशक विकास विष्टले जानकारी दिए । त्यस्तै हल्का पेय पदार्थ, ‘ह्युम पाइप र रोजिनको उत्पादनको बृद्वि क्रमशः १ सय १, ५५ दशमलव ८ र ४५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको केन्द्रिय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । मौसमी उत्पादन तयार भएकोले गर्दा दोश्रो त्रैमासको तुलनामा उत्पादन दरमा बृद्वि भएको हो ।
तथ्याङ्कमा सिमेण्ट,सावुन,इँटा, कार्टुन बक्सलगायतको उत्पादनक २० प्रतिशतले बढेको बताइएको छ । तर,जुटका सामान, गहुँको पिठो र चकलेटको उत्पादनमा भने कमी आएको विभागले जानकारी दिएको छ । ‘प्रशोधित चियाको उत्पादनमा सवैभन्दा कम ४० प्रतिशतले गिरावट आएको छ ।
यो तेस्रो आवको दुई महिनाको तथ्याङ्क हो । चैतमहिनामा पनि यस्ता बस्तुको उत्पादन सोही अनुरुप हुने विभागले जानकारी दिएको छ ।
बढ्यो औद्योगीक उत्पादनको सूचाङ्क
त्यस्तै, सो अवधिमा औद्योगिक उत्पादनको सूचाङ्कमा बृद्वि भएको छ । औद्योगिक उत्पादनको सुचाङ्क १ सय १७ बाट बढेर १ सय ३५ पुगेको महानिर्देशक विष्टले बताए ।
दोश्रो त्रैमासिकको तुलनामा औद्योगिक उत्पादन १५ प्रतिशतले बढेको हो । औद्योगिक ‘अघिल्लो आवको तेस्रो त्रैमासिकको तुलनामा भने यस्ता उत्पादन १४ दशमलव ४ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो ’ उनले भने ।
चालुआवको तेस्रो मसान्तमा २३ औद्योगिक समूहमध्ये १८ समूहको उत्पादन बढेको उनले जानकारी दिए ।
त्यसमा पनि खाद्यान्न समूहको उत्पादन सवैभन्दा बढी ८३ दशमलव ८ प्रतिशतले बृद्वि भएको छ । त्यस्तै आधारभुत रसायन समूह,गैरधातु,हल्का पेय पदार्थको उत्पादन क्रमशः४५,३७ र २६ प्रतिशतले बढेको तथ्याङ्कमा उल्लेख छ ।
यता फर्निचर, प्रशोधित पेट्रोलियको उत्पादनमा भने गिरावट आएको विष्टले जानकारी दिए ।