प्रभावकारी सेवा दिन गृहमन्त्रीको निर्देशन

91
  •  
  •  
  •  

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्रदेश प्रहरी प्रमुखको रुपमा खटिन लागेका सात डिआईजीलाई प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

प्रतिपक्षले साना विषय पनि उछालिरहेकाले सचेततापुर्वक काम गर्न उनले निर्देशन दिए । उनले भने, ‘जिम्मेवार नागरिक पनि हुँ भन्ने गरि काम गर्नुहोला । प्रदेश अनुसार फरक फरक समस्या र विशिष्टता छन् । सोही अनुसार रणनीति बनाएर काम गर्नुपर्ने अवस्था छ ।’

उनले तस्करीका नयाँ रुट खुलेको सुनिएको र कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोका पनि खबर आउने गरेकाले त्यसमा सचेत रहन समेत गृहमन्त्री थापाले आग्रह गरे ।

विप्लव समूहका गतिविधि नियन्त्रणमा प्राथमिकतामा राख्न र राजावादी र विखण्डनवादिका गतिविधि पनि निगरानीमा राख्न उनले निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले गत शुक्रबार गृहले सातै प्रदेशका प्रहरी प्रमुख हेरफेर गरेको थियो । जसअनुसार प्रदेश नम्बर १ मा ठाकुर ज्ञवाली, प्रदेश नम्बर २ मा प्रद्युम्न कार्की, प्रदेश नम्बर ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा बिनोद शर्मा घिमिरे, प्रदेश नम्बर ५ मा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखका रुपमा खटाएको छ ।


  •  
  •  
  •