अदालतमा आउनै मान्दैनन्, भ्रष्टाचार मुद्दाका सरकारी साक्षी

2115
  •  
  •  
  •  

Bishesh-Adalatकाठमाडौँ, ९ जेठ(ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साक्षीका रूपमा प्रस्तुत गरेका व्यक्तिहरू नै अदालतको आदेश अटेर गर्न थालेपछि भ्रष्टाचार मुद्दा किनारा लगाउन ढिलाइ भएको छ । कतिसम्म भने मुद्दाको अनुसन्धान गर्नका लागि आफैँ घूसको कारोबारमा संलग्न भएका अधिकृत नै अदालतमा आएर बयान दिन आनाकानी गर्न थालेका छन् । यसले सुनुवाईको प्रक्रिया लम्बिने मात्र नभई मुद्दा नै कमजोर बन्ने खतरा बढेको अदालतका अधिकारीहरुको भनाइ छ ।

यस्तै, यातायातमा नक्कली चालक अनुमतिपत्र बनाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारद्वारा ०७० भदौ २ गते विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) नै सरकारी साक्षी भए पनि अदालत आउन मानेका छैनन् । अख्तियारमा कार्यरत छँदा तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णप्रसाद शर्माले छद्म भेषमा ग्राहक बनी अनुसन्धानमा सहयोग गरेका थिए ।

शर्मालाई सरकारी साक्षीका रुपमा प्रस्तुत गरी अख्तियारले बागमती अञ्चल यातायात कार्यालय, एकान्तकुना, ललितपुरका शाखा अधिकृत रामदत्त भट्टलगायत १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । डीएसपी बनेर दाङ सरुवा भएका शर्मा अहिले भैरहवामा कार्यरत  छन् । उनका नाममा विशेष अदालतले तीनपटक पत्र काटिसकेको छ । न उनी आफै उपस्थित भएका छन्, न त अख्तियारले नै उनलाई उपस्थित गराउन सकेको छ ।

सरकारी साक्षी भएरपनि अदालत उपस्थित नहुनुको कारणबारे कृष्ण प्रसाद शर्माले आफूलाई आधिकारिक निकायबाट कुनै पनि जानकारी नआएको बताए । उनले आफूलाई अदालत उपस्थित हुनका लागि चिठी काटिएकोबारे थाहा पाएको तर आफू दाङमा कार्यरत रहँदा सम्बन्धित निकायले पठाएको पत्र ओखलढुङ्गा पुगेको र त्यहाँबाट आफूसम्म आईपुग्दा उपस्थित हुनका लागि तोकिएको मिति गुज्रिसकेकाले आफू उपस्थित हुन नसकेको बताए ।

गत ३० चैतमा विशेष अदालतका न्यायाधीश भुपेन्द्र राईले अख्तियारका तर्फबाट बहस गर्न पुगेका सरकारी वकिलहरुलाई कडा शब्दमा भनेका थिए, ‘तपाईँहरु सरकारी साक्षी नै ल्याउन नसक्ने । अनि कसरी मुद्दा अघि बढ्छ ?’ सरकारी पदमा भएका व्यक्तिलाई नै साक्षी झिकाउन नसक्ने भनेर न्यायाधीश राईले कडा टिप्पणी गरेका थिए ।

डीएसपी शर्मासँगै अख्तियारले साक्षीका रुपमा प्रस्तुत गरेका अन्य ५ जना दलालहरू पनि फरार छन् । ‘साक्षीहरू अदालतमा उपस्थित नहुँदा मुद्दासम्बन्धी फाइल नै खुलेको छैन,’ अदालतका एक अधिकारीले ओएनएससँग भने, ‘यही कारण मुद्दा किनारा गर्न धेरै ढिलो भइसकेको छ । र, अख्तियारको अभियोग पनि कमजोर हुने देखिएको छ ।’

अख्तियारले पनि जथाभावी मुद्दामा विपक्षी बनाउने, मुद्दा लगाइहाल्ने र त्यसपछि मुद्दा नै बिर्सने गरेको गुनासो अदालतका अधिकारीहरुको छ । अभियुक्तलाई मुद्दासँगै उपस्थित गराउन नसक्ने र साक्षीको बारेमा पनि अख्तियारले चासो नदिने कारण अन्य मुद्दामा पनि अख्तियार असफल भएको ती अधिकारीले बताए । उनी भन्छन्, ‘मुद्दाको भोल्युम बढाउनमा मात्र अख्तियारको ध्यान गएको देखिन्छ । मुद्दालाई कसरी परिपक्व बनाउने भन्नेतिर गम्भीर भएको पाइँदैन ।’

विशेष अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल भने साक्षीहरुले अदालतको आदेश अटेर गर्न नपाउने बताउँछन् । भन्छन्, ‘कुनै पनि मुद्दाका साक्षीहरु अदालतले बोलाएको खण्डमा आउनुपर्छ । नआएमा कानुनअनुसार कारवाही हुन सक्छ ।’ मुद्दा विशेषमा भने मिसिल हेरेर मात्र बताउन सकिने उनको भनाइ छ ।

कानुनअनुसार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको ६ महिनाभित्र मुद्दा किनारा लगाउनुपर्छ । तर, मुद्दा दायर भएको १ वर्ष ९ महिना भइसक्दा समेत यो मुद्दाको फैसला हुन सकेको छैन । तीन न्यायाधीशको एउटा मात्र इजलास रहँदै आएको विशेष अदालतमा मुद्दाको चाप बढेका कारण दोब्बर न्यायाधीश र इजलास कायम गरिएको छ । तैपनि, समयमा मुद्दा नछिनिँदा पक्षहरु मर्कामा परेका छन् ।

सम्बन्धित समाचार :

हाइप्रोफाइलका २८ व्यक्ति गलतबाटोबाट लाइसेन्स लिनेमा संलग्न भएको खुलासा


  •  
  •  
  •