सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

119
  •  
  •  
  •  

काठमाडौँ, ३१ बैशाख(ओएनएस) : सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रम व्यवस्थापिका संसदले बहुमतले पारित गरेको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएपछि लगत्तै नीति तथा कार्यक्रम संसदले बहुमतले पारित गरेको हो ।

प्रधानमन्त्री ओलीले स्थानीय निकायको निर्वाचनका लागि सबै दलहरू एकजुट हुनुपर्ने बताएका छन् । उनले स्थानीय निर्वाचनकालागि आवश्यक कानुनी तथा भौतिक पूर्वाधारको तयारीमा सरकार लागिसकेको जानकारी संसद समक्ष बताएका छन् ।

उनले जनप्रतिनिधी नभएका कारण विकास निर्माणको कार्यमा राजनीतिक नेतृत्व पाउन नसकेको भन्दै डेढ दशकदेखि जनप्रतिनिधीबिहिन अवस्थाको अन्त्य गर्नुपर्ने भनाई राखेका छन् ।

उनले सरकारले आवश्यक कानुनको लागि तयारी गरिसकेको छ भने आयोगले माग गरेका सबै व्यवस्थाकालागि सरकार तयार रहेको बताए ।

उनले तराई-काठमाडौँ द्रुतमार्ग निर्माणमा प्रविधी र स्रोत दुवै हिसाबले सरकार सक्षम रहेको भन्दै संसदको अर्थ समिति र विकास समितिले दिएको निर्देशनको सम्मान गर्दै द्रुत मार्ग आफैले निर्माण गर्ने प्रस्ताव गरिएको बताए । दुई दिन अघि संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्रुतमार्गको ठक्का विदेशी कम्पनीलाई दिनुपर्ने बताएका थिए । उनले आयोजना ठूलो भएकाले नेपालले निर्माण गर्ने कुरा भावनात्मक मात्र भएको उल्लेख गरेका थिए ।

यस्तै, उनले वर्तमान सरकार कसैको टिकाटिप्पणीबाट नहट्ने भन्दै अर्को प्रतिनिधिसभाको निर्वाचनसम्म रहने बताएका छन् । सरकार संविधानको प्रभावकारी कार्यन्वयन र सीमांकनको राजनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको उनले बताए ।


  •  
  •  
  •