मधेसीसँगको वार्तामा लचकताका साथ प्रस्तुत हुने

141
  •  
  •  
  •  

काठमाडौँ, १५ कात्तिक(ओएनएस) : उच्चस्तरीय राजनीतिक समितिको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्तामा लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।

गत असोज ३ गते जारी भएको संविधानमा असन्तुष्टी व्यक्त गर्दै आन्दोलन गरिरहेको मोर्चाका माग सम्बोधन गर्नका लागि सरकार मधेसी मोर्चासँगको वार्ताका लचिलो भएर प्रस्तुत हुने भएको छ । आझको वार्तामा मोर्चालाई आफूहरू लचक भएर मधेसको मुद्दालाई सम्बोधन गर्न तयार रहेको विश्वास दिलाउने सरकारको तयारी छ । तर, राष्ट्रिय हितका प्रश्नमा तलमाथि हुने गरी सर्त मान्न तयार नहुने निर्णय समेत गरेको छ ।
सरकारलाई समर्थन गर्ने दलका शीर्ष नेता रहेको सो समितिले सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापालाई आवश्यक अख्तियारी दिएको छ । सरकारी वार्ता टोली र मोर्चाको टोलीबीच आज अपराह्न ४ बजे वार्ता हुँदैछ ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलन र वार्तालाई लम्ब्याउँदा जनतामा कष्ट थपिँदै जाने भएकाले वार्तामा अधिकतम लचकताका साथ माग सम्बोधन गर्न सरकार तयार हुने बताए । उनले मोर्चाले राखेका पक्राउ परेका आन्दोलनकारीलाई मुद्दा फिर्तालगायत पाँचबुँदे सर्त कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा समितिका संयोजक एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा समितिको बैठक बसेको थियो ।


  •  
  •  
  •