महिनामै झण्डै दुई करोड बाँडचुँड

389
  •  
  •  
  •  

काठमाडौं, २८ असार (ओएनएस) । फजुल खर्चमा मितव्यायिता अपनाउने तथा भष्ट्राचारमा शून्य सहनशीलता कायम गर्ने घोषणा गरेको सरकारले चालु आर्थिक वर्षको जेठमा मात्र एक करोड ७२ लाख रुपैया“ आर्थिक सहायता बाँडेको छ ।

विभिन्न राजनीतिक दलका नेता एवं पूर्वमन्त्रीदेखि निजामती कर्मचारी, तीनका परिवारका सदस्य, विभिन्न घटनाका घाइतेका नाममा सरकारले यो रकम बाँडेको हो ।

अर्थमन्त्रालयका अनुसार सरकारले विभिन्न घटनामा घाइते तथा अंगभंग भएका व्यक्तिको उपचार, औषधि खर्च तथा क्षतिपूर्तिका रूपमा एक महिना यति ठूलो रकम बाँडेको हो ।

आर्थिक सहायता शीर्षकमा बाँडिएको यो रकम विभिन्न मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयानुसार निकासा दिइएको छ । मन्त्रिपरिषद्को निर्णयमा आर्थिक सहायता पाउनेमा संविधानसभा निर्वाचनका घाइतेदेखि, सर्वसाधारण, कर्मचारी, नेता, सासंद र पूर्वमन्त्रीहरू छन् ।

सरकारले सबैभन्दा बढी एमालेका संसदीय दलका नेता तथा पूर्वउपप्रधानमन्त्री केपी ओलीको उपचार खर्चबापत ६६ लाख ३९ हजार १ सय ३७ रुपैया“ रकम निकासा गरेको समाचार हिमालय टाइम्समा छापिएको छ । उनलाई स्वदेश तथा विदेशमा उपचार गर्न आवश्यक खर्चबापत यो रकम निकासा गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

यस्तै, अर्का पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई उपचार खर्चबापत २७ लाख ८० हजार रुपैया“ दिइएको छ । त्यस्तै पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघको हालै सम्पन्न साधारणसभाका लागि पनि सरकारले २० लाख रुपैया“ आर्थिक सहयोग दिएको छ ।

यो रकम पनि मन्त्रिपरिषद्बाटै निर्णयबाट दिइएको हो । यस्तै, विभिन्न व्यक्तिको उपचारका लागि न्यूनतम ३ लाखदेखि ६६ लाखसम्म आर्थिक सहायत बाँडीको छ । विभिन्न मन्त्रीको विदेश भ्रमणको खर्चबापत पनि अर्थले लाखौं रकम निकासा दिएको छ ।

स्वास्थ्यमन्त्री खगराज अधिकारीको स्विजरल्याण्ड भ्रमणका लागि ९ लाख ४८ हजार १४१, प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमणका लागि १८ लाख ९४ हजार ६५, सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको युएई भ्रमणका लागि ४ लाख ६५ हजार ३ सय ३०, महान्याधिवक्ताको अमेरिका भ्रमणका लागि ९ लाख ३९ हजार ३ सय ६४, अर्थमन्त्रीको अल्जेरिया भ्रमणका लागि १७ लाख ९७ हजार ५ सय ५० रुपैया“ रकम निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्रीको चीन भ्रमणका लागि १४ लाख ९० हजार ५ सय ६७ रुपैया“, विभिन्न मुलुक भ्रमणको गएको टोलीलाई १५ लाख ८ हजार ६ सय १६, भारतको एक कार्यक्रममा गएको टोलीलाई ६ लाख ९५ हजार २ सय ६८, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको लन्डन भ्रमणका लागि २३ लाख ५२ हजार ४ सय ६८ रुपैया“ र भैपरी आउने शीर्षकमासमेत करोडौं निकासा दिएको छ ।

साथै, सांसद ताराबहादुर विष्टको उपचारका लागि ५ लाख, संविधानसभा निर्वाचनको समयमा घाइते भएका राकेश तिवारीलाई राहत, क्षतिपूर्ति तथा औषधोउचारका लागि १ लाख ५३ हजार ७ सय ८६ रुपैया“ जेठ महिनामा निकासा दिएको जनाएको छ ।

यस्तै, सरकारले चालु आर्थिक वर्षको अन्त्यतिर सडक, बिजुली, खानेपानी, सिँचाइ, यातायात, सञ्चार, विभिन्न तालिम तथा भ्रमणमा करोडौं रकमान्तर गरेको छ ।

एक आयोजनामा खर्च नभएको रकम जसरी पनि सक्ने उद्देश्यले अर्थमन्त्रालयले अर्को टुक्रे आयोजना खडा गरी निकासा गरेको छ । विभिन्न दल, मन्त्री, सासंद, पूर्वमन्त्रीको दवावमा अर्थले करोडौं रकम निकासा गरेको हो । आर्थिक वर्षको अन्त्यमा जथाभावी रकम खर्च गर्दा भष्ट्राचार मौलाउने भए पनि अर्थले त्यसलाई बेवास्ता गरेको अर्थविद्को भनाइ छ ।

अर्थका प्रवक्ता रामशरण पुडाशैनी भने अनावश्यक शीर्षमा नभई आयोजनामा खर्च नभएको रकम अर्को रकम अभाव भएको आयोजनामा लगाएको दाबी गर्छन् । यसअघि पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो क्षेत्रमा करोडौं रकमान्तर गरी पठाएका थिए । अहिले राजधानीका सडकमा खाल्डा खुल्डी टाल्ने काममा पनि लाखौं रकम खर्च भइरहेको अर्थले जनाएको छ ।


  •  
  •  
  •