भक्तपुर, १७ चैत(ओएनएस) : एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले वर्तमान सरकारको काम कछुवाको गति जस्तै अगाडि बढेको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा वर्तमान सरकारको काम कारवाही प्रभावकारी नभएको भन्दै उनले सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
उनले सरकार परिवर्तनको विषय हल्ला मात्र भएको भन्दै नेपाली कांग्रेसलाई समेत यही सरकारमा सहभागी गराएर राष्ट्रिय सरकारको स्वरूप दिनका लागि शीर्ष नेताहरू लागिपरेको जानकारी दिएका छन् । मधेश आन्दोलनका जायज मागहरुको सम्बोधन नगरे स्थानीय निकायको निर्वाचन असफल हुने बताएका छन् । उनले स्थानीय निकायको निर्वाचन अगावै संघियता र सीमांकनको टुंगो लगाउनुपर्ने भनाई राखेका छन् ।
उनले नेपाल सरकारका प्रधानमन्त्रीको चीन भ्रमणमा गरिएको सम्झौताहरुको कार्यान्वयनमा जटिलता देखिएको र विगतदेखि नै सरकारले बनाएको योजनामा हुने भागबन्डा र कमिशनको खेलकै कारण हरेक योजना सफल हुन नसकेकाले सरकारले यता तर्फ ध्यान दिनु पर्नेमा जोड दिए ।
भूकम्पले थिलथिलो पारेका नेपालीलाई थप हावा हुरीले पिडा थपेको र सरकारले केही गर्न नसकेको भन्दै बर्खा लाग्नु अगावै सरकारले भूकम्प पीडितहरुका लागि गास र बासको जोहो गर्नु पर्ने उनको भनाई थियो ।
इन्धन र ग्याँसको अभावमा भइरहेको अवस्थामा सरकारले कालो बजारीयाहरुलाई नियन्त्रण गर्न असफल रहेको आरोप लगाउँदै उनले नेपाल आयल निगम र सरोकारवालहरुले नै इन्धनको अभाव श्रृजना गरेको र सरकार मुखदर्शक मात्र बनेको बताए ।
विभिन्न कम्युनिष्टबीचको एकतालाई एमाओवादीले तिव्रता दिएको भन्दै एकता नभए पनि धुव्रिकरण भएर सबै अगाडि बढ्ने उनको भनाई छ ।