माग पूरा गर्ने जिम्मा नागरिकलाई दिँदै केसीले सुरू गरे आमरण अनसन

218
  •  
  •  
  •  

govinda-kcकाठमाडौ, ८ चैत (ओएनएस) : एकवर्षअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै प्रा. डा गोविन्द केसीले फेरि आमरण अनसन सुरू गरेका छन् । १० सूत्रीय मागसहित त्रिभुवन विश्वविद्यालयका वरिष्ठ चिकित्सक केसीले आइतबारबाट आमरणमा बसेका छन् । यसअघि भएका सहमति पुरा गर्न दिएको १० दिनको अल्टिमेटमा सरकारबाट प्रतिक्रिया नआएपछि उनी आमरण अनसनमा बसेका हुन् । उनले अब आफ्ना माग नागरिकले पुरा गर्ने बताएका छन् ।

आमरण अनसन बस्नुअघि दिउँसो शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आफ्ना माग पूरा गर्नेतर्फ सरकारले कुनै कदम नचालेकाले आमरण अनसनको बाटो फेरी रोजेको बताए ।

डा. केसीले प्रधानमन्त्री सुशील कोइरालासमेत मेडिकल माफियाको चंगुलमा परिसकेकाले अब उनले समेत माग पुरा गर्न कठिन भएको बताए । प्रधानमन्त्री कोइरालाले माग पूरा गर्न सक्नुभएन । माफियाको दवावमा झुक्नुभयो केसीले भने अब मेरा माग जनताले पूरा गर्नेछन् ।  अदालत पनि नेपालीको स्वास्थ्यप्रति संवेदनशील नभएको उनको आरोप छ ।

उनले आइओएमका भ्रष्ट पूर्वपदाधिकारीहरुलाई तत्काल कारवाही गर्नुपर्ने, चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने,  विगतका सहमति तथा सरकारको निर्णयविपरीत काठमाडौं विश्वविद्यालयले दुई मेडिकल कलेजलाई सम्बन्धन दिएकाले केयुका पदाधिकारीलाई कारवाही गर्नुपर्नेलगायतका १० सूत्रीय माग राखेका छन् ।

माग पुरा नभएसम्म अब सहमतिले मात्रै आमरण अनसन नरोक्ने उनले अडान लिएका छन् । यसअघि केसीको आमरण अनसन तोड्दै अघिल्लो बर्ष २०७० फागुन ३ गते सरकारले ६ बुँदे प्रतिवद्धता सहित सहमति गरेको थियो ।

सरकारसँग भएको सहमतिपछि ८ दिनपछि फागुन ३ गते उनले आइओएमका एक विद्यार्थीको हातबाट जुस पिएर अनसन तोडेका थिए । सहमतिमा ग्रामीण क्षेत्रमा सरकारी लगानीमा मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा सरकारले यथाशिघ्र आवश्यक नीति बनाई लागू गर्ने, यसअघि सरकारी वार्ता टोलीसँग भएका सम्पूर्ण सहमति कार्यान्वयन गर्ने, नीजि मेडिकल कलेज र शैक्षिक गुणस्तरको सम्बन्धमा अध्ययन गरी आवश्यक प्रतिवेदन पेश गरी त्यसअनुसार नीति बनाउने सहमति भएको थियो ।


  •  
  •  
  •