‘डाक्टर हुनु त केसीजस्तो’

108
  •  
  •  
  •  

काठमाडौं २१ चैत ।
डा. गोविन्द केसीले १२ दिनको अनशन आफ्नो हातबाट जुस पिएर तोडेपछि धादिङका १० वर्षीय सुवाद अधिकारी मख्ख परेका छन्।चिकित्साशिक्षा क्षेत्रका अनियमितता रोक्न सरकारले प्रतिबद्धता गरेपछि बिहीबार दिउँसो डा. केसीले १० वर्षीय सुवाद र टिचिङ अस्पतालअघि जुत्ता सिलाउने सत्यनारायण रामको हातबाट जुस पिएर अनशन तोडेका थिए।

सुवाद केसीका बिरामी हुन्। आफ्नो हातबाट जुस पिएर केसीले अनशन तोडेको भएरमात्र सुवाद मख्ख परेका होइनन्, आफ्ना चिकित्सकको माग सरकारले पूरा गरिदिएकाले उनको खुसी झन् बढेको हो।

धादिङ फूलखर्क १ का सुवाद एक महिनादेखि टिचिङ अस्पतालमा खुट्टाको उपचार गराइरहेका थिए। बिरामी भएर टिचिङ अस्पतालमा उपचार गराउन पुगेका सुवादको हातबाट जुस पिएर सत्याग्राही चिकित्सक केसीले अनशन तोडेपछि उनको परिवार र सिंगो फूलखर्क गाउँ दंग परेको छ।

स्कुलमा गृहकार्य नगरेको भन्दै शिक्षकको कुटाइबाट घाइते भएर उपचारका सुवाद टिचिङ पुगेका थिए। गृहकार्य नगरेको निहुँमा दाहिने खुट्टामा शिक्षकले लौरोले हानेपछि सुन्निएर रगत र पिप जमेकाले उनको अप्रेसन नै गर्नुपर्‍यो।

गत कात्तिकमा डा. केसी नेतृत्वको टोली नै अप्रेसन गरेका सुवाद अहिले फेरि थप उपचारका लागि भर्ना भएका छन्। अहिले पनि उनको उपचार केसीले नै गर्दैछन्।

आर्थिक अवस्था कमजोर भएका सुवादलाई डा. केसीले ७५ प्रतिशत सहुलियतमा उपचार व्यवस्था मिलाइदिएका छन्। सुवादजस्तै आर्थिक अवस्था कमजोर भएका नेपालीले सहज र सरल तरिकाले उपचार पाउनुपर्छ र चिकित्साशिक्षाका विसंगति अन्त्य गर्नुपर्छ भन्ने माग राखेर केसी अनशन बसेका थिए।

आफूलाई सधैं जाँच गर्ने प्रिय डाक्टरलाई जुस खुवाएका सुवादले टेलिफोनमा अन्नपूर्णकर्मीसँग भने, ‘उहाँ सुतिरहनुभएको थियो, मैले गएर जुस खुवाएँ। अरू डाक्टरहरू आएर जुस खुवाउन जाऊँ भन्नुभयो, गएर खुवाइदिएँ।’

सुवादले थपे, ‘हिजोअस्ति मलाई औषधि दिनुहुन्थ्यो, आज (बिहीबार) मैले उहाँलाई जुस खुवाइदिएँ। जुस खाएपछि उहाँले मलाइ नआत्तिनु, तिमीलाई चाँडै निको हुन्छ भन्नुभएको छ।’

खुट्टामा रगत र पिप जमेर उपचार गर्न लैजाँदा सुरुमा २२ दिन टिचिङमा राखेको सुवादकी आमा गायत्रीले सम्झिन्। ‘दुई सातापछि फेरि देखाउन लाँदा हड्डी मक्किएको भनेपछि डाक्टर केसीले नै छोराको उपचार गरिदिएका हुन्। अप्रेसनपछि प्लास्टर गरेर चार महिना रा यौं।

फेरि अप्रेसन गर्नुपर्ने भएपछि धेरै खर्च लाग्ने भयो। हाम्रो अवस्था देखेर डा. केसीले सुवादको उपचारका लागि ७५ प्रतिशत सहुलियत मिलाइदिएका हुन्’, ज्यान अर्पण गरेर १२ दिन अनशन बसेका सहृदयी चिकित्सकलाई धन्यवाद दिँदै गायत्रीले भनिन्।

ठूलो सहुलियत पाए पनि अहिलेसम्म सुवादको उपचारमा साढे दुई लाख रुपैयाँ खर्च भइसकेको छ। गायत्रीले भनिन्, ‘पैसा नहुने र दु:खी गरिबहरूको उपचार गर्दा रमाउने डाक्टर केसीसँग भेट नभएको भए सायद मेरो छोराको उपचार गर्न सकिँदैन थियो कि? डाक्टर हुनु त केसीजस्तो।’

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •