केसी अनशनको आठौं दिन : स्वास्थ्य ‘जोखिमपूर्ण’

116
  •  
  •  
  •  

काठमाडौं १६ चैत । स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा देखिएका विकृतिविरुद्ध दसबुँदे मागसहित आठ दिनदेखि आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य ‘जोखिमपूर्ण’ अवस्थामा पुगेको छ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार मस्तिष्कमा ग्लुकोजको कमीले बेलाबेला डा. केसीको चेतना हराउन थालेको छ। उनी बोल्दा छिट्टै थाक्ने गरेका छन् भने छातीको दुखाइ र मांसपेसी बाँउडिने क्रम बढेको छ। बाहिरबाट देखिने यस्ता लक्षणबाहेक आइतबारको स्वास्थ्य रिपोर्टअनुसार आन्तरिक रूपमा पनि उनी गल्दै गएको डा. दिव्यासिंह शाहले जानकारी दिइन्।

‘भित्रभित्रै उहाँको स्वास्थ्य धेरै खस्किसकेको छ,’ डा. शाहले आइतबार नागरिकसँग भनिन्, ‘उहाँको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा छ। जुनसुकै बेला जे पनि हुनसक्छ।’

डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाका कारण जुनसुकै बेला आइसियु सार्नुपर्ने स्थिति रहेको उनले बताइन्। यसका लागि आइसियुमा एउटा शऒ्ढया तयारी अवस्थामा राखिएको छ। अघिल्लो अनशन क्रममा पनि आइसियु लैजानुपर्ने अवस्था आएको थियो। तर, डा. केसीले आफू होसमा छउन्जेल आइसियु सर्न मानेनन्। ‘जोखिम बढ्दै गएकाले यसपालि मनाउने कोसिस गर्नुपर्छ,’ अर्का एक चिकित्सकले भने, ‘तर, होस छउन्जेल मनाउन गाह्रो छ।’

अनशन क्रममा आठ दिनदेखि पानीसमेत नपिएका डा. केसीको जीवनरक्षाका लागि चिकित्सकहरूले ‘नर्मल सलाइन’ दिइरहेका छन्। यसबाहेक अतिरिक्त औषधि र ग्लुकोज लिन उनले अस्वीकार गरेका छन्। नसाबाट सलाइन दिँदादिँदा रक्तनली सुन्निएको छ। यस्तो अवस्थामा शरीरभरि संक्रमण फैलिएर ‘सेप्सिस’ हुनसक्छ। पटक–पटकको अनशन र उमेरका कारण पनि यसपालि उनको स्वास्थ्य छिट्टै खस्केको चिकित्सकहरूले बताएका छन्।

खानाले मुटु र श्वासप्रश्वासका लागि चाहिने ऊर्जा ग्लुकोज उत्पादन गर्छ। शरीरका तन्तुले त्यही ऊर्जाबाट मस्तिष्कलगायत अन्य अंगमा अक्सिजन पुर्यानउँछ। ‘मस्तिष्कमा सुगर र अक्सिनज पुगेन भने तन्तुहरू ड्यामेज हुन थाल्छन्,’ डा.शाहले भनिन्, ‘केसीले लामो समयदेखि खाना नखाएको र शरीरमा संचित पोषक तत्व सकिएकाले उहाँको स्वास्थ्य गम्भीर छ। खान छाडेपछि शरीरले ग्लाइकोजिनका रूपमा संचित पोषक तत्व सोस्न थाल्छ, त्यतिबेला पिसाबमा किटोनको मात्रा बढी देखिन्छ।’

अनशनको दोस्रो दिनबाटै डा. केसीको पिसाबमा किटोनको मात्रा बढेको थियो। ‘एक–दुई दिन नखाँदासम्म संचित पोषक तत्वले काम गर्छ,’ उनले भनिन्, ‘त्यसपछि शरीरमा रहेको फ्याट र विस्तारै मांसपेसीबाट लिन थाल्छ।’ आठ दिन लगातार पानीसमेत नपिई बस्दा शरीरले ऊर्जाका निम्ति सबै वैकल्पिक बाटो प्रयोग गर्न थालेको उनले बताइन्।

उनका अनुसार यो अवस्थामा मिर्गौला, मस्तिष्क र लिभरमा असर पर्छ। हृदयाघातको जोखिम पनि हुन्छ। ‘अहिले मस्तिष्कमा अक्सिजनको मात्रा कम भएर उहाँको चेतना हराउने क्रम सुरु भएको हो,’ उनले भनिन्, ‘यस्तो बेला मान्छेलाई आफू कहाँ छु भन्ने नै होस हुँदैन।’

शरीरले अन्य तरिकाबाट ऊर्जा लिँदा अम्लियपना अधिक भए रक्तचाप कम भएर मान्छे ‘कोल्याप्स’ हुनसक्ने डाक्टरहरू बताउँछन्। ‘आइतबारकै रिपोर्टले अम्लियपना बढेको देखाइसकेको छ,’ डा. शाहले भनिन्।

यतिमात्र होइन, शरीरलाई चलायमान राख्न भिटामिन, मिनरल्स, क्याल्सियम, म्याग्नेसियम र सोडियम चाहिन्छ। यसबाट शरीरका तन्तुहरूको काम सुचारु हुन्छ। यो कम हुँदै गए मुटुको धड्कनमा असर पर्छ। डा. केसीमा अहिले यो असर पनि देखिन थालिसकेको छ। उनको मुटुको चाल कहिले बढ्ने र कहिले घट्ने गरेको छ। यो दुवै अवस्था राम्रो होइन।

अर्को वार्ता ‘बटमलाइन’ पूरा भएपछि
आठ दिनदेखि आमरण अनशनमा बसेका डा. केसीले सरकारले आफ्नो बटमलाइन पूरा गरेपछि मात्र वार्तामा बस्ने बताएका छन्। ‘त्रिवि पदाधिकारीको बर्खास्तगी र सम्बन्धन खोल्ने सरकारी निर्णय बदर मेरा बटमलाइन हुन्,’ उनले आइतबार नागरिकसँग भने, ‘त्यो पूरा नगरी वार्ता हुँदैन।’

मन्त्रिपरिषदले शुक्रबार शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा गठन गरेको समितिसँग डा. केसी वार्ता गर्न तयार नभएपछि समितिका दुई सदस्य स्वास्थ्यमन्त्री खगराज अधिकारी र मुख्यसचिव लीलामिण पौडेलसँग आइतबार बिहान छलफल भएको थियो। पहिलो चरणमा सरकारी टोलीलाई डा. केसीका माग बुझाउने काम भएको स्रोत बताउँछ।

आन्दोलन चर्काउने
डा.केसीको समर्थनमा शुक्रबारबाट ओपिडी छाडेका शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकले आइतबार चिकित्सक संघको घोषित कार्यक्रमअनुसार अस्पतालको प्रांगणमै कालोपट्टी बाँधेर ओपिडी सेवा सञ्चालन गर्ने निर्णय गरेका छन्।

चिकित्सक संघले सोमबारदेखि बाहिर ओपिडी चलाउने घोषित कार्यक्रम यथावत राख्दै चैत १७ गते मंगलबारदेखि देशभर रिले अनशन गर्ने निर्णय गरेको छ। संघले यस्तो परिपत्र सबै शाखालाई गरिसकेको छ। संघले आइतबार विभिन्न स्वास्थ्यकर्मी, नर्सिङ युनियनसँग छलफल गरेको थियो।

यसैगरी सरकारी चिकित्सक संघ (गोदान) ले समेत विज्ञाप्ति जारी गरी १८ गतेसम्म बहिरंग सेवा अवरुद्ध हुनसक्ने जनाउँदै यसले आकस्मिक कक्षमा हुनसक्ने बिरामी संख्या वृद्धिलाई व्यवस्थापन गर्ने तयारी गर्न आह्वान गरेको छ। संघले सघन उपचार तथा प्रसूतीलगायत सेवा नियमित हुने व्यवस्था गर्न समेत अनुरोध गरेको विज्ञप्तिमा छ।

‘आइओएम जाऊँ’ अभियान
डा. केसीका मागमा समर्थन जनाउन सोमबार आइओएममा ऐक्यबद्धता सभा गरिने भएको छ। बिहान १० बजे अस्पताल प्रांगणमा यस्तो सभा गर्न लागिएको र त्यसमा ऐक्यबद्धताका लागि सर्वसाधारणलाई आह्वान गरिएको कार्यदलका सदस्य डा. रामचन्द्र सापकोटाले बताए।

डा.केसीको अनशनप्रति ऐक्यबद्धता जनाउन राजनीतिक दलका नेता एवं सर्वसाधारण शिक्षण अस्पताल पुग्ने क्रम जारी छ। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, कांग्रेसका लक्ष्मण घिमिरे, सद्भावना पार्टीका नेता सरिता गिरी, गायकहरू रामेश, रायनलगायत अनशनस्थल पुगेका थिए।

मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीले केसीका माग पूरा गर्न सरकार प्रमुखका नाताले प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्ने बताए। ‘सरकारले नीतिगत निर्णय लिएर त्यसका लागि कानुनी अड्चन भए हटाउनुपर्छ,’ रेग्मीले भने, ‘राज्यका निकायले इमानदार भएर त्यसलाई कार्यान्वयन गर्नुपर्छ।’
नागरिकबाट


  •  
  •  
  •