‘कुरा सुन्नै चाहन्नन् कोइराला’

144
  •  
  •  
  •  

काठमाडौं १० चैत । पाँचौंपटक अनशन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका मागबारे सरकार ‘रहस्यमय ढंगले’ मौन छ।  दस दिनअघि नै अल्टिमेट दिएर अनशन सुरु गरेको दोस्रो दिन सोमबारसम्म सरकारले डा. केसीका मागबारे सामान्य चासोसमेत देखाएको छैन।
यसअघि डा. केसीले कात्तिक २० गते दसदिने अल्टिमेटम दिँदा प्रधानमन्त्री सुशील कोइराला पाँच दिन नबित्दै माग पूरा गर्न कस्सिएका थिए। त्यसअघि चौथो अनशन क्रममा पनि उनले आफ्नो शपथ ग्रहणलगत्तै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन नियुक्तिको निर्देशन र माग पूरा गर्ने प्रतिबद्धता गरेका थिए।
यसपटक भने प्रधानमन्त्री कोइराला ‘कुरै सुन्न तयार नभएको’ आइओएमका एक वरिष्ठ चिकित्सकले बताएका छन्। ‘उहाँ सम्बन्धनका पक्षमा पूरै एकोहोरिनुभएको छ,’ आइओएमका ती चिकित्सकले सोमबार नागरिकसँग भने, ‘हामीले विभिन्न स्रोतबाट उहाँलाई सम्झाउन खोज्दा कुरै सुन्न तयार हुनुहुन्न।’
मन्त्रिपरिषद स्रोतले पनि कोइराला डा. केसीको मागलाई लिएर छलफल गर्न अनिच्छुक रहेको बतायो। ‘हामीले सम्झाउन खोज्दा उहाँ मलाई सिकाउनुपर्दैन भन्नुहुन्छ,’ मन्त्रिपरिषद स्रोतले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्यो, ‘तपाईंहरू मलाई मात्र किन सम्झाउनुहुन्छ, बरु (केपी) ओलीजीलाई पनि सम्झाउनुस् न, उहाँ मान्नुहुन्छ?’
आइओएम स्रोतहरूका अनुसार प्रधानमन्त्री कोइराला आफूनिकटका सीमित चिकित्सक, केही पारिवारिक सदस्य र सम्बन्धनको पर्खाइमा रहेका मेडिकल कलेजका प्रतिनिधिका मात्र कुरा सुनिरहेका छन्। ‘उहाँलाई यसपटक त्यो घेराबाट बाहिरको कुरा सुनाउन गाह्रो छ,’ आइओएमका एक प्राध्यापकले भने, ‘न सरकारका कुनै अधिकारीले डा. केसीलाई भेटेका छन्, न उनका समर्थकलाई भेट्न दिएका छन्।’
स्रोतका अनुसार अघिल्लोपटक सम्बन्धन बन्द गर्ने बेला ‘कुनै पनि दबाबसामु नझुक्ने’ प्रतिबद्धता गरेका कोइरालाले अहिले मुद्दा नै नबुझी सम्बन्धन रोकेको बताइरहेका छन्। ‘अबर्ौं लगानी गरेका कलेजले करोडौं ब्याज तिरिरहेका रहेछन्,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो अवस्थामा रोक्न हुन्न।’
आइओएम डिन डा. राकेश श्रीवास्तवले केसीका मागबारे आपसमा छलफल भइरहे पनि कोसँग के कुरा राख्ने यकिन नभएकाले अघि बढ्न नसकेको बताए। ‘उहाँका माग ठिक हुन्, तरिका ठिक भएन,’ डा. श्रीवास्तवले सोमबार नागरिकसँग भने, ‘सोमबार दिनभर आइओएमभित्र सबै पक्षसँग छलफल भयो, तर संश्लेषित रूपमा के कुरा राख्ने भन्ने यकिन भएकै छैन।’
प्रधानमन्त्री कोइराला डा. केसीको अनशनबारे पारिवारिक आफन्त एवं स्वास्थ्य विभाग प्रमुख डा. सशांक कोइराला तथा निजी फिजिसियन डा. करवीरनाथ योगीको सल्लाहमा भर परेको बालुवाटार स्रोतको भनाइ छ।
आइओएमका चिकित्सक डा. योगी त्रिविले गत वर्ष कात्तिकमा ‘चोरबाटो’ बाट सम्बन्धन खोल्ने प्रयासस्वरुप गठन गरिएका चार समितिमध्ये नेसनल मेडिकल कलेजको प्रतिवेदन तयार पार्न गठित समितिका संयोजक थिए। डा. योगीले समिति गठनको दुई घन्टाभित्रै ‘काठमाडौं नेसनलको सम्पूर्ण पूर्वाधार पुगेको’ प्रतिवेदन दिएका थिए।
यसबीच एकीकृत नेकपा माओवादी प्रवक्ता अग्नि सापकोटाले मुलुक संक्रमणकालीन अवस्थामा रहेका बेला सरकारको ध्यान मेडिकल कलेजको सम्बन्धनमा केन्द्रित रहेको भन्दै आपत्ति जनाएका छन्। स्वास्थ्य क्षेत्रमा थुप्रै विकृति र विसंगति रहेको अवस्थामा त्यसलाई सुधार्न पहिला नीति बनाउनुपर्ने जायज माग बेवास्ता गर्दै त्यसप्रति सुरु भएको प्रक्रियासमेत अवरुद्ध गरिएको उनले बताए।
‘सरकारले (डा. केदारभक्त) माथेमा समितिको प्रतिवेदन नकुरी सम्बन्धन खोल्नु, संसदीय समितिबाट नाटकीय र झालझेलपूर्ण तरिकाले निर्देशन दिलाउनु रहस्यमय छ,’ उनले सोमबार नागरिकसँग भने, ‘मंगलबार डाकिएको संसदीय समिति बैठकमा यो विषय पुनर्विचार गर्न म जोडदार माग गर्छु।’ 
यही विषयलाई लिएर संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिमा आइतबार सभासदहरूबीच चर्काचर्की भएको थियो। समितिले पुस १३ गते ‘देशमा चिकित्सा र इन्जिनियरिङ क्षेत्रका लागि आवश्यक जनशक्ति आपूर्ति गर्न र सो विषयमा अध्ययनका लागि खर्च हुने रकम विदेश पलायन हुनबाट रोक्न’ भन्दै सरकारबाट मनशायपत्र प्राप्त गरी सम्बन्धित निकायबाट सिफारिस भएका संस्थालाई सञ्चालन अनुमतिपत्र दिनुपर्ने निर्णय गरेको थियो। उक्त निर्णयमा असहमति जनाउँदै एमाओवादी सभासदहरूले निर्णय बदर हुनुपर्ने माग गरेका थिए। उनीहरूले आफूहरू अनुपस्थित रहेका बेला उक्त निर्णय गरिएको भन्दै पुनर्विचार गर्नुपर्ने माग गरेर समितिका सभापतिलाई पत्रसमेत लेखेका थिए।
उक्त बैठकमा एमाओवादी नेता सापकोटाले आफूहरूले पेस गरेको निवेदनलाई बैठकको एजेन्डा बनाउन सभापतिसँग माग गरेका थिए। उनले एमाले नेता राजेन्द्र पाण्डेको नामै किटान गरी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयसँग स्वार्थ गाँसिएको भनेका थिए। त्यसपछि पाण्डेले समितिको बैठकमा संसदीय भाषा प्रयोग नगरेको भन्दै आक्रोश पोखेका थिए।
कडा कदम चाल्न बाध्य हुनेछौं :  चिकित्सक संघ
सरकारले डा. गोविन्द केसीका माग बेवास्ता गरेपछि नेपाल चिकित्सक संघ, नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन लगायत संस्था आन्दोलन चर्काउने तयारीमा छन्।
अनशनको दोस्रो दिन सोमबार चिकित्सक संघले विज्ञप्ति निकालेर डा. केसीको अघिल्लो अनशनकै क्रममा भएका सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ। संघले स्वास्थ्य क्षेत्रलाई विकृति, विसंगति र तानाशाही प्रवृतिबाट मुक्त गराउन हुँदै आएको प्रयास र आन्दोलन क्रममा भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ।
‘सरकारले पटक–पटक सम्झौता गर्ने तर त्यसको कार्यान्वयन सट्टा अव्यावहारिक र तर्कहीन निर्णय गर्दै स्वास्थ्यकर्मी एवं चिकित्सकलाई भड्काउने प्रवृत्ति अविलम्ब अन्त हुनुपर्छ,’ संघले विज्ञप्तिमा भनेको छ।
संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले डा.केसीका माग र संघसँग विगतमा भएका सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराइसकेको बताए। ‘सरकारले बेलैमा सुनुवाइ नगरे हामी कडा कदम चाल्न बाध्य हुनेछौं,’ डा. झाले नागरिकसँग भने, ‘केही दिनमा आकस्मिक भेला बोलाएर भावी कार्यक्रम कस्तो हुने यकिन गरिनेछ। चिकित्सकलाई उत्तेजित नपार्न हामी सरकारसँग बेलैमा आग्रह गर्छौं।’
आइओएम रेजिडेन्ट चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले पनि सोमबारै विज्ञप्ति जारी गरी डा. केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै तुरुन्त सम्बोधन नभए उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार आफैं हुने चेतावनी दिएको छ। एसोसिएसनका सचिव डा. नर्मल लामिछानेद्वारा जारी विज्ञप्तिमा मेडिकल शिक्षामा मौलाएको बेथिति र विकृति हटाउनुपर्नेमा रेजिडेन्ट डाक्टरहरूबीच सर्वसम्मत रहेको उल्लेख छ।
सोमबार साँझ अन्डरग्रा्यजुएट विद्यार्थीहरूले भेला आयोजना गरेर डा. केसीको माग पूरा गर्न सघाउने निर्णय गरेको छ। यसबीच आइओएम पदाधिकारीले भने ‘जस्तोसुकै आन्दोलन भए पनि सेवा नरोक्ने वातावरण बनाउन’ वरिष्ठ चिकित्सकहरूसँग आग्रह गरेका छन्। पदाधिकारीले फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडिए), नेपाल प्रध्यापक संघ आइओएम इकाईसँग पनि छलफल गरेका थिए। उनीहरूले विद्यार्थी र रेजिडेन्ट डाक्टरलाई पनि ‘सेवा नरोक्न’ भनेका थिए।
विद्यार्थी र रेजिडेन्ट चिकित्सकले सरकार लचिलो नभए बिरामीलाई मर्का नपर्ने गरी विरोध कार्यक्रम आयोजना गर्ने बताएका छन्। विद्यार्थीहरूले मंगलबारबाट डा. केसीको अनशनलाई सघाउन कार्यदल नै बनाएर अघि बढ्ने निर्णय गरेका छन्। 
यसबीच अनशन बसेको दोस्रो दिन नै डा.केसीको स्वास्थ्यमा नकारात्मक सूचक देखिन थालेका छन्। चिकित्सकहरूका अनुसार सोमबार उनको पिसाबको मात्रा घट्नुका साथै पिसाबमा एसिटोन पोजेटिभ देखिएको छ। नागरिकबाट

  •  
  •  
  •