केसी जाजरकोट, कोइराला जाकार्ता

180
  •  
  •  
  •  

काठमाडौं ८ वैशाख ।
‘मोबाइल ‘स्विच अफ’ छ,’ सहकर्मी दीपक दाहालले सोमबार बिहानै मलाई फोन गरेर भने – ‘उहाँ नेपालगन्ज पुगिसक्नुभो भन्ने सुनेको छु ।’
‘लौ, हिजो दिउँसोसम्म बान्ता गरेर हल न चल हुनुहुन्थ्यो त !’ मैले सोधेँ – ‘उहाँको मेडिकल रिपोर्ट आयो ?’

‘काँ आउनु, जचाउन दिनुभएको छ, रिपोर्ट त आज आउने हो, उहाँ रिपोर्टै नकुरी सुटुक्क हिँड्नुभएछ ।’
‘यस्तो हालतमा जाजरकोट जानुभयो !’ म छक्क परेँ, ‘विद्यार्थीहरूले रोकेनछन् ?’
‘रोके होलान् नि, अर्काको कुरा सुन्ने हो र ?’ दीपकले भने ।
मैले सोचेँ – हो त, डा. गोविन्द केसी अर्काको कुरा कहाँ सुन्छन् ।

***
मैले देखेको छु – अर्काको सल्लाह टार्न पर्‍यो भने डा. केसी मुसुक्क हाँसिदिन्छन् ।
सवालजबाफ गर्दैनन् ।
उनको हाँसोले धेरैलाई आफ्नो सल्लाह सुनुवाइ भएको भ्रम हुनसक्छ । उनी भने त्यही मौका पारेर आफ्नो यात्रामा लम्किहाल्छन् ।
सोमबार पनि त्यस्तै भयो ।
जाजरकोट महामारी काबुबाहिर गएको थाहा पाएदेखि डा. केसी त्यहाँ पुग्न खुट्टा उचालिरहेका थिए । नेपालगन्जका स्वास्थ्यकर्मी र विद्यार्थीलाई फोन गरेर नियमित ‘अपडेट’ लिन्थे । कुन गाविसमा सबभन्दा बढी बिरामी छन् भनी बारम्बार सोधपुछ गरिरहन्थे । जाजरकोटमा फैलिएको मौसमी फ्लुको उपचारनिम्ति चाहिने औषधिहरू किनेर जम्मा गर्न थालिसकेका थिए ।

यसको अर्थ, उनी पछिल्लो एक सातादेखि नै जाजरकोट जाने तयारीमा थिए तर कसैलाई सुइँको दिएका थिएनन् । यसपल्ट उनका निकट र शुभचिन्तकहरू केसी जाजरकोटजस्तो दुर्गम ठाउँ नजाऊन् भन्ने नै चाहन्थे । कारण, उनी शारीरिकरूपमा दुर्गम यात्राका लागि तयार भइसकेका थिएनन् ।

बाह्रदिने अनशनले गलेका डा. केसी आफ्नो एउटा हातसमेत राम्ररी चलाउन सक्थेनन् । चिकित्सकका अनुसार कमजोर शारीरिक अवस्थाका कारण उनको रोग प्रतिरोधात्मक क्षमता कम थियो । मौसमी फ्लुले सबभन्दा पहिला अँठ्याउने त्यस्तै व्यक्तिलाई हो, जो अशक्त छ, कमजोर छ र जसको रोगप्रतिरोधी क्षमता कम छ । यस हालतमा मौसमी फ्लुको महामारीमा छिर्दा उनलाई सजिलै फ्लु सल्कने र उपचार गर्न असजिलो हुने डर उनका डाक्टर विद्यार्थीहरूलाई थियो ।

डा. केसी शारीरिक बलले होइन मनोबलले अडिएका व्यक्ति हुन् । आफ्नो शरीरको सुर्ता भइदिएको भए उनी पानीको एक थोपा मुखमा नहाली अनशनै किन बस्थे र ! उनको ऊर्जा भनेकै त्यही मनोबल हो, जसले कमजोर शारीरिक अवस्थाका बाबजुद जाजरकोटको महामारी प्रभावित क्षेत्र जान घच्घच्याइरहेको थियो ।

नभन्दै डा. केसीले आइतबार अपराह्न तीन बजे छुट्ने बसको टिकट काटे, जाजरकोट जान । नियमित कामकाजबाट आइतबारै बिदा लिए । आफूले जम्मा गरेका ओखतीमुलो बिहानै प्याकिङ गरे ।

सारा तयारी भइसकेको थियो, दिउँसो अचानक उनलाई तीनचोटि बान्ता भयो । बान्ताले लखतरान परेपछि उनलाई निकट विद्यार्थी तथा शुभचिन्तकले हिँड्न दिएनन् । यसपपटक स्वास्थ्य स्थिति ठीक नभएकाले जाजरकोट नजान दबाब दिए धेरैले । उनले सबैका प्रतिक्रिया सुनिरहे, जबाफ केही दिएनन् ।
मुसुक्क हाँसे ।
उनको मुस्कान देखेर धेरैलाई लाग्यो, केसी जाँदैनन् । तीन बजेको बसमा आफूले प्याकिङ गरेका औषधिको भारी पठाइदिएपछि त झन् विद्यार्थी र शुभचिन्तक जम्मै ढुक्क भए ।
म पनि ।

***
डा. केसी सोमबार जाजरकोटतिर लम्के, संयोगले प्रधानमन्त्री सुशील कोइरालाले पनि सोमबारै काठमाडौं छाडे।

कोइरालाको खाँचो त जाजरकोटमै बढी थियो तर उनी गइदिए जाकार्ता । इन्डोनेसियाको राजधानी जाकार्ता र बाङडुङमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनमा भाग लिन उनी त्यसतर्फ गएका हुन् ।

मेरो आशय प्रधानमन्त्री कोइरालाले जाकार्ता जानै हुन्न भन्ने होइन । प्रधानमन्त्री आफैँले डा. केसीजस्तो जाजरकोटका गाउँ–गाउँ डुलेर ओखती बाँड्नुपर्छ भन्ने सोचाइ पनि म राख्दिनँ । त्यो प्रधानमन्त्री सुशील कोइरालाको होइन टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीकै काम हो भन्ने मलाई राम्ररी थाहा छ । तर, एउटा कुरा पक्कै हो, मौसमी फ्लुको महामारीले ग्रस्त जाजरकोटमा पर्याप्त डाक्टर, स्वास्थ्यकर्मी तथा औषधिउपचारको व्यवस्था गर्ने सबैभन्दा मुख्य दायित्व प्रधानमन्त्री कोइरालाकै हो ।

डा. केसी र कोइराला आजको नेपाली समाजका दुई विम्ब हुन् । केसीले नागरिकको प्रतिनिधित्व गर्छन्, कोइरालाले राज्यको ।

अहिलेको नागरिक सरोकार जाजरकोट नै हो । पाँच वर्षअघि झाडापखालाको महामारीले ३ सय ५० जना भन्दा बढीको ज्यान गएको जाजरकोटमा फेरि मौसमी फ्लु काल बनेर मडारिएको छ । अहिलेसम्म २४ जनाको ज्यान लिइसकेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । दुई हजारभन्दा बढी बिरामी उपचार नपाएर छट्पटिरहेका छन् । यस्तो भयावह अवस्थामा जाजरकोटमा न पर्याप्त स्वास्थ्यकर्मी छन् न त औषधि नै ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जाजरकोटमा डाक्टरसहित २ सय ५० जना स्वास्थ्यकर्मीको दरबन्दी छ, जसमध्ये ५० वटा पद रिक्त छ । पटक–पटक महामारीको चपेटामा पर्ने जिल्लामा के कति कारणले ५० जना स्वास्थ्यकर्मी नियुक्त गरिएनन् भन्ने प्रश्न आफ्नो ठाउँमा छँदैछ । त्योभन्दा महŒवपूर्ण कुरा, जिल्लामा कार्यरत भनिएका २ सय स्वास्थ्यकर्मी पनि कागजमा मात्र छन् । सबैलाई थाहा छ, तीमध्ये अधिकांश स्वास्थ्यकर्मी या त सदरमुकामको जिल्ला अस्पतालमा हाजिर बजाएर आरामको जागिर खाइरहेका छन् या काज मिलाएर काठमाडौंकै नर्सिङ होम वा क्लिनिक धानिरहेका छन् । कति त बिदा लिएर बसेका पनि हुन सक्छन् । नतिजा, त्यहाँका अधिकांश स्वास्थ्यचौकीमा स्वास्थ्य सहायक, अहेव र अनमीको मुखसम्म देख्न पाइँदैन । गरिब जनताको स्वास्थ्य उपचार ढोका खोल्ने र बन्द गर्ने जिम्मेवारी बोकेका कार्यालय सहयोगी (पियन) को हातबाट भइरहेको छ, त्यो पनि सिटामोलको भरमा । कति ठाउँमा त त्यही सिटामोल पनि हुँदैन ।

राज्य कतिसम्म लाचार छ भने ग्रामीण क्षेत्रको यो बेहाल देख्दादेख्दै वा जान्दाजान्दै सच्याउने साहस गर्न सक्दैन । एक महिनादेखि जिल्लाभरि यति भयावह महामारी फैलिँदा पनि दरबन्दीका सम्पूर्ण स्वास्थ्यकर्मीलाई काममा फर्कन बाध्य पार्ने तागत राज्यसँग छैन । भइदिएको भए ‘२४ घन्टाभित्र काममा फर्कनू’ भनी पत्र काटेको एक साता बित्दा पनि जाजरकोटमा स्वास्थ्यकर्मीको अभाव हुने थिएन । र, सरकारी आदेश पालना नहुँदा पनि ती स्वास्थ्यकर्मी अझै सरकारी सेवामै बहाल रहने थिएनन् ।

जाजरकोटको अवस्थाले सिंगो देशका दुर्गमबासी गरिब नागरिकको बेहाल र बेवश परिस्थिति झल्काउँछ । ती बेहाल र बेबश नागरिकको रोगमा मलम लगाउन अघि सरेका डा. केसी सम्पूर्ण नेपाली जनताका स्वास्थ्यदूत हुन् । र, त्यही समय जाकार्ता उडेका प्रधानमन्त्री कोइरालाले भने राज्यको प्राथमिकता प्रतिविम्बित गर्दैछन् ।

सरकारलाई साँच्चै नै जाजरकोटले पोलेको थियो भने कम्तीमा कोइरालाले आफू जाकार्ता उडे पनि त्यहाँको महामारी नियन्त्रणमा लिन चाँजोपाँजो मिलाइसकेका हुन्थे । अझ पाँच वर्ष अवधिमै पटक–पटक जाजरकोटमा सयौंको ज्यान जाने गरी किन महामारी फैलिरहन्छ भन्नेबारे अध्ययन गर्न उच्चस्तरीय विशेषज्ञ टोली त्यहाँ पठाइसकेका हुन्थे । तर, यी केही बन्दोबस्त नगरी उनी यस्तरी जाकार्ता उडे, मानौ करिब एक महिनादेखि जाजरकोटमा गुञ्जिएको चित्कार उनको कानमै परेन । दिनरात थपिएको मृत्युसंख्याले उनको मुटुलाई पोल्दै पोलेन ।

राज्य कसरी यति कठोर हुनसक्छ आफ्नो नागरिकको मृत्युमा ?

राज्य आफ्नो दायित्वबाट कतिसम्म लापरबाह छ भन्ने कुरा दुईवटा घटनाले छर्लंग हुन्छ । अघिल्लो साता नै प्रभावित क्षेत्र पुगेका स्वास्थ्य मन्त्री खगराज अधिकारी र उनको टोलीले जाजरकोटबाट १२ जना बिरामीको खकारको नमुना संकलन गरेर ल्यायो । त्यही टोली ‘हतार भयो’ भन्दै रगतको नमुना भने नलिइकनै फर्कियो । समयमै रक्तनमुना राजधानी ल्याउन नसक्दा महामारीको मूल कारण खुट्ट्याउन सकिएन । अझै पनि सरकार महामारीको खास कारणसम्म पुग्न सकेको छैन । आखिर स्वास्थ्य मन्त्रीलाई जनताको स्वास्थ्य उपचारभन्दा बढी के काममा त्यतिविधि ‘हतार’ भएछ ?

आइतबारको हेलिकप्टर काण्ड सरकारी लापरबाहीको अर्को उदाहरण हो ।

स्वास्थ्य मन्त्रालयले जाजरकोटको महामारी प्रभावित क्षेत्रमा पठाउन भनेर विशेषज्ञ चिकित्सक टोली गठन गरिसक्दा पनि हेलिकप्टर उपलब्ध हुन नसक्दा प्रभावित क्षेत्र पुग्न सकेन । साधुसन्तका मठमन्दिर उद्घाटन गर्न र पार्टीका राजनीतिक भेला तथा कार्यक्रममा भाग लिन तुरुन्तै उपलब्ध हुने हेलिकप्टर जनताको ज्यानै जोखिममा पर्दा उडाउन सकिएन ।

अर्थ र रक्षा मन्त्रालय तथा सेनाको लेखापढी नमिल्दा हेलिकप्टर उडाउन नसकिएको सम्बन्धित अधिकारीको भनाइ छ । जनताकै पैसाबाट किनिएका यस्ता भौतिक सामग्री जनताकै ज्यान बचाउने काममा प्रयोग गर्न नपाइने कस्तो राज्य हो यो ?

र, यी सबै बेथितिबीच जाजरकोटलाई मृत्युको मुखमा छाडेर आफू जाकार्ता उड्ने कस्ता प्रधानमन्त्री हुन् यी ?

राज्यले जाजरकोटको पीडा बुझ्ने हो भने सबभन्दा पहिला यी बेथिति र बेहाल अवस्था सल्टाउन उच्चस्तरीय टोलीलाई त्यहाँ पठाउनुपर्छ । त्यहाँका प्रत्येक गाविस र प्रत्येक बस्तीमा दक्ष स्वास्थ्यकर्मी पुर्‍याउनुपर्छ र प्रत्येक बिरामीले राम्रो स्वास्थ्य उपचार पाइरहेका छन् भनी ग्यारेन्टी गर्नुपर्छ ।

तत्कालको यो महामारी संकट हल गरेपछि राज्यको ध्यान जानुपर्छ, यसको कारणतर्फ । के कारणले जाजरकोट पटक–पटक महामारीको सिकार भइरहेको छ ? राज्यले यो प्रश्नको जबाफ खोज्नुपर्छ।

सर्सती हेर्दा जाजरकोट सामाजिक–आर्थिक अविकास र भौगोलिक विकटताको परिणाम भोग्दैछ । जिल्ला विकास समितिका अनुसार त्यहाँ छरिएर रहेका ९ सय ९० बस्ती छन् । एकै गाविसमा सरदर ३३ बस्ती छन् । सयभन्दा कम जनसंख्या भएका बस्ती नै झन्डै ४ सय छन् । एउटा बस्तीबाट अर्कोमा पुग्न पाँच घन्टासम्म हिँड्नुपर्छ । यस्तो अवस्थामा एकचोटि महामारी सल्केपछि स्वास्थ्यकर्मीहरू ती सम्पूर्ण बस्तीमा नपुगेसम्म रोग निमिट्यान्न पार्न सकिन्न । एउटै बस्तीमा शिविर चलाएर गरिने ‘ढुकुवा’ उपचार पद्धतिले यस्तो महामारी नियन्त्रण नहुने जिल्ला स्वास्थ्यकै कर्मचारी बताउँछन् । तर, यो सुझाव अहिलेसम्म राज्य तर्फबाट सुनुवाइ भएको छैन । राज्य अझै पनि ढुकुवा पद्धतिमै अल्मलिइरहेको छ, जसबाट छरिएर रहेका बिरामीलाई एकैचोटि सेवा दिन सकिन्न भन्ने निश्चित भइसक्यो ।

सेवासम्म जनता पुग्दैनन्, जनता भएको ठाउँमा राज्य पुग्दैन ।

अर्कातिर, महामारी दोहोरिइरहने कारण यहाँको पोषण, रोग प्रतिरोधात्मक क्षमता, सरसफाइ र चेतनाको कमजोर अवस्था पनि हो । यी सबैको कारण हो, यहाँको गरिबी । मानव विकास सूचकांकमा ६८ औं स्थानमा रहेको जाजरकोटमा आधा जनसंख्या मात्र यस्ता छन्, जो तीनदेखि छ महिना आफ्नो उब्जनीले खान सक्छन् । राज्यले स्वास्थ्य टोलीमार्फत सरसफाइ र पोषणको चेतनास्तर बढाउन त सक्छ, तर गरिबीको रसातलबाट बाहिर ननिकालेसम्म उनीहरूको त्यो चेतनाको कुनै प्रयोजन हुन्न ।

आफ्नो नागरिकको यो हदसम्मको गरिबी र लाचारीमा राज्य कसरी यति कठोर हुनसक्छ ?

***
डा. केसीले तीनपटक लगातार बान्ता गरेपछि उनको लिभर परीक्षण गरिएको थियो । त्यसको नतिजा आइसकेको छैन ।
‘रिपोर्ट हेरेपछि मात्र उहाँ बाहिर जान मिल्छ कि मिल्दैन थाहा हुन्थ्यो,’ सहकर्मी दीपकले भने, ‘उहाँ रिपोर्ट नआउँदै हिँड्नुभयो ।’
डा. केसीको उपचारमा संलग्न डा. दिव्यासिंह शाह पनि उनी शारीरिक रूपमा अशक्त रहेको बताउँछिन् । भन्छिन्, ‘यस्तो बेला आराम गर्नुपर्छ र संक्रमण फैलिएको ठाउँमा जान हुँदैन भन्ने उहाँलाई राम्ररी थाहा थियो, तर मसँग सल्लाहै नगरी सुटुक्क हिँड्नु भएछ ।’
सायद सल्लाह गरेकै भए पनि डा. शाहले रोक्न सक्ने थिइनन् ।
डा. केसीले हाँसेरै टारिदिने थिए ।
साँच्चै, यस्तो डाक्टर मैले देखेकै छैन !
र, यस्ता प्रधानमन्त्री पनि मैले देखेकै छैन !
नागरिकबाट


  •  
  •  
  •