संविधान कार्यान्वयन गर्न सरकार असफल : सभापति देउवा

130
  •  
  •  
  •  

काठमाडौँ, ३ जेठ(ओएनएस) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि खतराको संकेत देखा परेको भन्दै यसलाइ जोगाउनका लागि सबै क्षेत्रमा एकता कायम राख्नुपर्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले आज आयोजना गरेको २२ औँ स्थापना दिवस तथा ‘किसुनजी विशेष : चिन्तन’ प्रकाशन लोकार्पण समारोहमा उनले दलहरूको बीचमा मेलमिलाप र सहमति कायम गरेर संविधान कार्यान्वयन गर्न सरकार असफल भएको भन्दै संसदको ठूलो दललाई बेवास्ता गरेर अघि बढ्ने सरकारको रवैयाको प्रतिकार गर्दै प्रजातन्त्रको संरक्षणमा कांग्रेस लाग्ने बताए ।

सरकारले झूठो आश्वासन बाँडेको आरोप लगाउँदै उनले अध्यारोमा जीवन बिताउन बाध्य भएका जनतालाई भ्रममा पार्दै १० वर्षमा १० हजार मेगावाट बिजली उत्पादन गर्ने विषय सरकारको हावादारी कुरा रहेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बौद्धिक समुदायले कुनै पनि विषयको वैज्ञानिक विश्लेषणका आधारमा समर्थन वा विरोध गर्नुपर्ने बताए । राजदूत उपाध्याय फिर्ताको घटनाले दुई देशबीचको सम्बन्धमा असर पर्नेतर्फ संकेत गरेका छन् ।

यस्तै, कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले संविधानसभाबाट नयाँ संविधान जारी भएपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको परिवर्तन बाहेक केही ठोस काम हुन नसकेको बताए । उनले मधेसको आन्दोलन काठमाडौमा सुरू भएको भन्दै समस्याको समाधान सबै दल मिलेर मात्र हुने बताएका छन् । न्यायपरिषद्‍मा पाँचजना सदस्य भएपछि मात्र न्यायाधीश नियुक्त हुनुपर्छ भन्ने एसोसिएसनको विचार रहेको अध्यक्ष केसीले बताए ।


  •  
  •  
  •