विरगंज, ६ साउन (ओएनएस) उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आर्थिक समृद्धिको आधार शीला खडा गरि विकास निर्माणको कार्यलाई तीव्रता दिनु नै सरकारको मुख्य प्राथमिकताका काम भएको बताएका छन् ।
गृह मन्त्रालयद्वारा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको मंगलवार उद्घाटन गर्दै गृहमन्त्री गौतमले सो कुरा बताएका छन् । उनले नेपाली जनताले चाहे अनुरुपको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी राजनीतिक परिवर्तनलाई संस्थागत गर्नुनै मुलुकको अहिलेको प्रमुख एजेन्डा भएको बताए ।
मन्त्री गौतमले संविधान जारि र गर्ने काम बाकि रहेकाले शान्ति सुरक्षामा आउन सक्ने जोखिमलाई ध्यानमा राखेर सुरक्ष व्यवस्था सुदृढ बनाउन सबै सुरक्षा अधिकारीलाई निर्देशन दिए । गोष्ठिमा गृहसचिव सूर्यप्रसाद सिलवालले गृह प्रशासनको कार्यशैली, व्यवहारबाट नै जनताले सरकारप्रतिको दृष्टिकोण बनाउने भएकाले प्रत्येक अधिकारीले निष्पक्ष भएर आ–आफ्नो दायित्व निर्वाह गर्नु पर्ने बताए ।
गोष्ठीमा बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली गरी नौ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको पनि सहभागिता रहेको छ ।