सरकार ‘गोलमेच सम्मेलन’को तयारीमा

239
  •  
  •  
  •  

काठमाडौं, ९ जेठ (ओएनएस)  : संविधानसभा निर्वाचन बहिस्कार गरेको  नेकपा–माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी बनाउन सरकारले माओवादीको माग बमोजिम ‘गोलमेच सम्मेलन’को तयारी गरेको छ ।
प्रधानमन्त्री सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा यस्तो सहमति बनेको हो । भेटमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका लागि राष्ट्रिय सहमति आवश्यक भएको र त्यसका लागि खुला छलफल गर्न सरकार तयार रहेको बताएको भेटमा सहभागी माओवादी सचिब देव गुरुङले ओएनएसलाई जानtकारी दिए ।
नेता गुरुङका अनुसार पहिलो चरणमा प्रमुख ४ दलबीच बैठक बस्ने र त्यस बैठकमा मोटामोटी सहमती भएपछि सर्वदलीय बैठक गर्ने सहमति भएको छ । यस्तो बैठकको नाम के दिने भन्ने विषयमा अहिले सहमति भइनसकेको गुरुङले जानकारी दिए ।
भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दिल्ली जान लागेकै बेला संविधानसभा बाहिर रहेको शक्तिसँग प्रधानमन्त्रीले गरेको यस्तो सहमतिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भारतबाट फर्के लगत्तै सरकारले ४ दलीय बैठकको पहल गर्ने प्रधानमन्त्री कोइरालाले वैद्यलाई आश्वस्थ पारेका थिए । कोइराला आगामी सोमबार भारत जाँदैछन् ।
शुक्रबारको भेटलाई माओवादीले सकारात्मक भनी टिप्पणी गरेको छ । नेता गुरुङले भने, ‘सरकार सबै शक्तिसँग सहमतिका आधारमा अगाडी बढ्न खोजेको छ यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’
शुक्रबार भएको प्रधानमन्त्री–वैद्य भेटका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वातावरण बनाएको स्रोतले बताएको छ । स्रोतका अनुसार नेकपा–माओवादीका मागका विषयमा दाहाल र वैद्यबीच पहिलो चरणमा छलफल भएको थियो । सो छलफलपछि दाहालले प्रधानमन्त्रीलाई भेटेका थिए । यसपछिमात्र प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष वैद्यबीच भेट भएको हो ।

  •  
  •  
  •  

Comments are closed.